काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको पार्टीमाथिको पकड झनै जबरजस्त बनेको छ ।
शीर्ष नेतृत्वदेखि केन्द्रीय कमिटीका सदस्यसम्म अधिकांश पदमा ओलीकै टीमका उम्मेदवार निर्वाचित हुँदा पार्टीभित्र शक्ति सन्तुलन ओलीको पक्षमा थप केन्द्रित भएको स्पष्ट देखिएको छ ।
महाधिवेशनको अन्तिम मतपरिणामअनुसार गोकर्ण विष्ट र योगेश भट्टराईबाहेक निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य ओलीकै प्यानलबाट आएका छन् ।
यद्यपि ओलीकै टीमका केही प्रभावशाली नेता भने अप्रत्याशित रूपमा राजनीतिक प्रतिस्पर्धाबाट ‘रिङ आउट’ भएका छन् ।
ओली समूहकै गुरुप्रसाद बराल र विष्णुप्रसाद रिमाल दुवै पदमा पराजित (रिङ आउट) हुने नेताहरूमा पर्नु भएको छ ।
यस्तै, महासचिव पदका उम्मेदवारसमेत रहनु भएका सुरेन्द्रप्रसाद पाण्डे पनि दुवै पदमा पराजित हुनु भएके छ ।
यससँगै अरुण नेपाल, टङ्कप्रसाद कार्की, परशुराम मेघी गुरुङ, वैजनाथ चौधरी, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल, पेम्बा लामा र विनोदप्रसाद ढकाल पनि केन्द्रीय राजनीतिबाट बाहिर पर्नु भएको छ ।
अब उहाँहरू कुनै भूमिकामा समेटिने वा रिङ आउट रहिरहने कुरा अध्यक्षको विवेकमा भर पर्ने विषय बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
एमालेको विधानअनुसार पदाधिकारी पदका उम्मेदवार स्वतः केन्द्रीय सदस्यका पनि उम्मेदवार हुने व्यवस्था छ ।
पदाधिकारीमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भए कमिटीमा अट्ने प्रावधान भए तापनि यी ११ जना नेता दुवै पदमा असफल भएका हुन् ।
यसैबीच महाधिवेशनको मतपरिणामले अध्यक्ष ओलीको सङ्गठनात्मक शक्ति बलियो भए पनि मतगणनामा फरक सन्देश दिएको छ ।
अध्यक्षमा भारी मतसहित विजयी हुनुभएका ओली केन्द्रीय सदस्यतर्फ भने पराजित हुनु भएको छ । केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा सबैभन्दा कम ९ सय ९४ मत भएपनि ओलीले ९ सय ७९ मत मात्र प्राप्त गर्नु भयो ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसले ओलीको नेतृत्व स्वीकार्य भए पनि केन्द्रीय सदस्यतर्फ मत ‘थ्रेसहोल्ड’ नपुग्नुले पार्टीभित्र मत विभाजन र सन्तुलनको सङ्केत दिएको छ । यद्यपि नेतृत्व तहमा ओलीको वर्चस्व अझ मजबुत भएको निष्कर्ष निकालिएको छ ।
महाधिवेशनपछि बनेको नयाँ कमिटीमा ओलीको पकड बलियो देखिए पनि रिङ आउट भएका वरिष्ठ नेताहरूको भूमिका र उनीहरूको आगामी राजनीतिक चालले एमालेको आन्तरिक राजनीतिमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

