मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

एमाले जनवर्गीय सङ्गठनद्वारा पोखरामा विरोध प्रदर्शन

पोखरा । नेकपा एमाले निकट जनवर्गीय सङ्गठनहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा उनीहरूले प्रदर्शन गर्दै कार्की आयोगको प्रतिवेदन जलाएका हुन् ।

२०८२ चैत १४ गते दिउँसो अनेरास्ववियु र युवा सङ्घ नेपालको नेतृत्वमा पोखरा महानगरपालिका-९ स्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली पृथ्वीचोक पुगेर विरोधसभामा परिणत भएको थियो । सोही क्रममा प्रदर्शनकारीहरूले कार्की आयोगको प्रतिवेदन जलाएका थिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारवाही गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेपछि एमाले निकट सङ्गठनहरूले उक्त कदमलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भन्दै विरोध जनाएका हुन् ।

विरोध सभामा बोल्दै अनेरास्ववियु गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण र तथ्यविहीन रहेको आरोप लगाउनु भयो ।

यसैबिच, विरोध कार्यक्रमलाई निरन्तरता दिँदै भोलि जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको एमाले नेता बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनु भएको छ ।

Author

Related News