ललितपुर । नेकपा एमाले ललितपुर जिल्ला कमिटीका सदस्य एवम् ललितपुर महानगरपालिका वडा नं ४ का पूर्व वडा अध्यक्ष नारायण केसीको निधन भएको छ ।
६५ वर्षीय केसीको २०८२ असार ८ गते बिहान जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
सामान्य अवस्थामै रहनुभएका केसी बिहान प्रातकालीन भ्रमणबाट घर फर्केपछि घरको बगैँचामा पानी हाल्दै गर्दा एक्कासी ढल्नु भएको थियो ।
त्यस लगत्तै उहाँलाई अल्का अस्पतालमा पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको हो । २०७४ सालमा ललितपुर महानगरपालिका वडा नं ४ को वडाध्यक्षमा निर्वाचित हुनुभएका केसीको असार ८ गते नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
निधनपश्चात वडा नं ४ को वडा कार्यालय परिसरमा दिवंगत केसीको पार्थिव शरीरमा शिक्षामन्त्री रघुजी पन्त, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न पार्टीका नेता कार्यकर्ता तथा वडावासी र केसीका आफन्तहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।