मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरू, गण्डकीको उत्कृष्ट सुरुवात

पोखरा । नेपाल एथलेटिक्स सङ्घको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स सङ्घको व्यवस्थापनमा यू-२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप र दोस्रो पोखरा ओपन एथलेटिक्स मिट-२०२६ सुरू भएको छ । प्रतियोगितामा यू-२० तर्फ २४ विधा र पोखरा ओपनतर्फ ३० विधामा प्रतिस्पर्धा भइरहेको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतियोगिताको उद्घाटन गर्दै यसले देशभरका युवा खेलाडीहरूको क्षमता, अनुशासन र मेहनत उजागर गर्दै एथलेटिक्स क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलमार्फत स्वस्थ, सक्षम र अनुशासित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेशले दुई स्वर्ण पदक जित्दै उत्कृष्ट सुरुवात गरेको छ । पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत १५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण जित्नुभएको हो ।

महिला १ हजार ५ सय मिटर दौडमा नारायणी भण्डारीले ५ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो ।

बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डमा रजत तथा लुम्बिनी प्रदेशकी गुञ्जा यादवले ५ मिनेट २७.९१ सेकेण्डमा कास्य पदक जित्नुभयो ।

पुरुषतर्फ १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले ४ मिनेट ०९.३५ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण हात पार्नुभयो ।

बागमतीका हस्त सुनारले ४ मिनेट ०९.८२ सेकेण्डसहित रजत तथा लुम्बिनीका नरेन्द्र दानीले ४ मिनेट १४.०३ सेकेण्डमा कास्य पदक जित्नुभयो ।

यसैबिच, प्रतियोगितासँगै सञ्चालन भइरहेको दोस्रो पोखरा ओपन एथलेटिक्स मिटअन्तर्गत पनि विभिन्न विधाका खेलहरू जारी छन् ।

पोखरा ओपनतर्फ विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने यू-२० च्याम्पियनसिपका विजेताले ३ हजार, २ हजार र १ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितालाई रेडबुल, सफल दूध (सुजल डेरी), सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैङ्क, सोल्टी पानी, योर्स ट्रेनिङ सेन्टर, गेट्स ट्रेनिङ सेन्टर र कफी दी हिमालयजले सहयोग गरेका छन् ।

कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन प्रतियोगिता संयोजक तथा सचिव सिद्धान्त अधिकारीले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News