पोखरा । जेनेरेसन–जी (Gen–Z) आन्दोलन चर्किँदै गएसँगै पोखरामा हिंसात्मक घटना भएका छन् ।
आन्दोलनकै क्रममा तोडफोड र आगजनी हुँदा दुई महिलाको ज्यान गएको छ भने बालसुधार गृहबाट १०९ जना बालक फरार भएका छन् ।
पोखरा महानगरपालिका–१८ स्थित बालसुधार गृहका कर्मचारी डाँसीराम रेग्मीका अनुसार भदौ २४ गते राति १० बजे अज्ञात समूहले घरेलु हतियार देखाई धाकधम्की दिँदै १०९ बालकलाई भगाएको हो ।
यसअघि, भदौ २३ गतेदेखि शुरू भएको जेनेरेसन–जीको प्रदर्शनले पोखरामा हिंसात्मक रूप लिँदा दुई जना महिलाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका-६ लेकसाइडस्थित अङ्शुभरा ग्रुपको भवनभित्र दोलखा, बैत्येश्वर गाउँपालिका-८ क्षेत्रपाकी २२ वर्षीया स्वतिका खड्काको र पोखरा मनपा-९ नयाँबजारस्थित गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाको गाडी शोरूमभित्र पहिचान खुल्न नसकेकी एक महिलाको जलेको शव भदौ २५ गते बिहान फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, अङ्शुभरा ग्रुप, बगैंचा रिसोर्ट लगायतका प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
उहाँका भाइ ध्रुव थापाको घर र गाडी शोरूममा समेत आगो लगाइएको प्रहरीले जनाएको छ । पोखरामा भेटिएका दुवै शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।