मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

मरिणका दुई ओटा वडा उज्यालो वडा घोषित

रुद्रबहादुर खड्का, सिन्धुली ।

मरिण गाउँपालिका–६ लाई २०८२ साल भदौ २ गते ‘उज्यालो वडा’ घोषणा गरिएको छ । प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त वडालाई मरिण गाउँपालिकाको दोस्रो उज्यालो वडा घोषणा गरिएको हो ।

गाउँपालिकाले यसअघि वडा नं. ५ लाई उज्यालो वडा घोषणा गरिसकेको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) का अनुसार वडा नं. ५ भित्रका सम्पूर्ण घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् विस्तार गरी उज्यालो वडा घोषणा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घीय सांसद राजन दाहालले दुर्गम बस्तीसम्म विद्युत् विस्तार भएपछि गाउँघरमा नागरिकको दैनिकी सहज हुनुका साथै साना उद्योग तथा व्यवसाय सञ्चालनमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो-“गाउँपालिकाले गरेको प्रयास सार्थक भएको छ ।”

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले आफू निर्वाचित भएदेखि नै उज्यालो गाउँपालिका बनाउने लक्ष्यकासाथ काम गरिरहेको बताउँदै गाउँपालिकाका दुई ओटा वडामा शतप्रतिशत विद्युत् सेवा विस्तार भइसकेको जानकारी दिनु भयो ।

उहाँले अन्य वडाका दुर्गम क्षेत्रहरूमा पनि चाँडै विद्युत् विस्तार गरेर सम्पूर्ण गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्ने योजना रहेको स्पष्ट पार्नु भयो ।

गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले विकासक्रम एक प्रक्रियागत रूप भएको बताउँदै आगामी वर्षसम्म सम्पूर्ण वडाका दुर्गम क्षेत्रहरूमा विद्युत् पुर्‍याउने लक्ष्य रहेको बताउनु भयो।

Author

Related News