कांग्रेस सहमहामन्त्री राणालाई एमालेका पूर्व प्रदेश सांसद र रास्वपाका जिल्ला सभापतिको चुनौती
ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर-१ मा कडा र रोचक प्रतिस्पर्धा देखिने सङ्केत देखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सहमहामन्त्री एवम् निवर्तमान सांसद उदय शमसेर राणा, नेकपा एमालेका नेता तथा प्रदेशसभा पूर्व सदस्य चेतनाथ सञ्जेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।
राणा २०७० सालको संविधानसभा निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका अनुभवी नेता हुनुहुन्छ ।
निरन्तर संसदीय उपस्थितिका कारण उहाँलाई ‘दोहोर्याएर जितिसकेका’ उम्मेदवारको रूपमा हेरिएको छ ।
कांग्रेसको बलियो सङ्गठन, स्थानीय तहमा प्रभावशाली पकड र सम्भावित मन्त्रीका रूपमा चर्चामा रहनु उहाँको प्रमुख शक्ति मानिएको छ ।
क्षेत्र नम्बर-१ मा पर्ने चार स्थानीय तहमध्ये तीन ओटाका प्रमुख कांग्रेसबाट निर्वाचित छन् भने अधिकांश वडा अध्यक्ष पनि कांग्रेसकै छन् ।
एमालेतर्फबाट मैदानमा उत्रिनु भएका चेतनाथ सञ्जेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा ललितपुर १ (ख) बाट निर्वाचित भएका पूर्व सांसद हुनुहुन्छ ।
दक्षिण ललितपुर क्षेत्रमा उहाँको बलियो जनाधार र पारिवारिक तथा सामाजिक सम्बन्ध रहेको बताइन्छ ।
प्रदेशसभा सदस्य हुँदा विकासप्रेमी नेताको छवि बनाउनु भएका सञ्जेल जनताको गारो-सारोमा सहजै उपलब्ध हुने नेताका रूपमा चिनिन्नु हुन्छ, जसलाई उहाँको प्रमुख बलियो पक्ष मानिएको छ ।
रास्वपाबाट उम्मेदवार बन्नु भएका जिल्ला सभापति बुद्धरत्न महर्जन यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-२ बाट पराजित हुनु भएको थियो ।
यसपटक क्षेत्र परिवर्तन गरी ललितपुर-१ बाट उम्मेदवारी दिनु भएका महर्जनले रास्वपाप्रतिको जनलहर, नयाँ मतदाता र परम्परागत दलप्रति असन्तुष्ट मतदाताको समर्थन पाउने अपेक्षा गर्नु भएको छ ।
यस क्षेत्रमा अन्य दल र स्वतन्त्र उम्मेदवारसमेत गरी कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन विश्लेषकहरूका अनुसार तीमध्ये अधिकांश ‘डमी उम्मेदवार’ हुन्, जसलाई बुथ प्रतिनिधि व्यवस्थापन र सवारी साधन प्रयोगका लागि दलहरूले रणनीतिक रूपमा अघि सारेका छन् ।
इतिहास हेर्दा ललितपुर-१ राजनीतिक रूपमा पटकपटक सत्ता परिवर्तन भएको क्षेत्र हो । २०१५ सालको निर्वाचनमा नेकपाले जित हात पारेको यो क्षेत्रमा २०४८ र २०५१ मा एमालेका मिठाराम शर्मा विजयी हुनु भएको थियो ।
२०५६ मा एमालेकै सुशीला नेपाल, २०६४ मा माओवादीका वर्षमान पुन, २०७० मा कांग्रेसका उदय शमसेर राणा, २०७४ मा एमालेका नवराज सिलवाल र २०७९ मा पुनः कांग्रेसका राणा विजयी हुनु भएको थियो ।
यस क्षेत्रमा अहिलेसम्म दोहोर्याएर सांसद बन्नेमा एमालेका मिठाराम शर्मा र कांग्रेसका उदय शमसेर राणा हुनुहुन्छ ।
यसपटक कांग्रेस, एमाले र रास्वपाबिचको त्रिकोणात्मक प्रतिस्पर्धाले ललितपुर-१ को चुनावलाई थप चासोको विषय बनाएको छ ।
सङ्गठन, अनुभव र नयाँ राजनीतिक धारबिचको भिडन्तले मतदाताको निर्णय कुन दिशामा जान्छ भन्ने कुराले चुनावी परिणाम निर्धारण गर्ने देखिन्छ ।
मुख्य प्रतिस्पर्धीबाहेक अन्य दलबाट पनि केही नयाँ अनुहारहरू निर्वाचन मैदानमा देखिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सजिना कार्की, नेकपा माओवादीका भिमसेन घिमिरे तथा पिपुल्स फर्स्ट पार्टीका सनोज महत प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहारका रूपमा उम्मेदवार बनेका छन् ।
उनीहरूले वैकल्पिक राजनीतिक धार, मुद्दामुखी बहस र फरक शैलीको प्रतिनिधित्व गर्ने दाबी गर्दै मतदातामाझ आफूलाई चिनाउने प्रयास गरिरहेका छन् ।