पोखरा । “खाद्य पदार्थमा स्वच्छताः विज्ञानको प्रतिबद्धता” भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको प्राविधिक सहयोग तथा जनप्रिय माध्यमिक विद्यालय पोखरा महानगरपालिका–८, सिमलचौरको व्यवस्थापनमा विद्यार्थीका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ।
विद्यालयको सभाकक्षमा २०८२ पुस ९ गते आयोजित कार्यक्रममा विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि स्वस्थ र सन्तुलित खानपानको महत्त्वबारे सचेतना जगाउने उद्देश्य राखिएको थियो ।
कार्यक्रममा १ सय ६० जना विद्यार्थीहरू सहित शिक्षक तथा अन्य सहभागी गरेर कुल १ सय ७६ जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले पछिल्लो समय बालबालिकाहरू जङ्क फुडको लतमा फस्दा सिकाइ क्षमतामा ह्रास आएको उल्लेख गर्नु भयो ।
जीवनोपयोगी खाद्य स्वच्छता, गुणस्तर र पोषणसम्बन्धी सचेतना कार्यक्रमका लागि आफ्नो विद्यालय छनोट भएकोमा उहाँले कार्यालयप्रति आभार व्यक्त गर्नु भयो ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले विद्यार्थी र शिक्षकहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर पहिचान गर्ने तरिकाबारे सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षणमा खाद्य अनुसन्धान अधिकृत सरस्वती गिरी र केमिस्ट आकाश बुढामगरले चार मुख्य विषयवस्तुमा जोड दिनु भयो ।

प्रशिक्षणका क्रममा
- खाद्य स्वच्छता-खेतदेखि पेटसम्म खाना सफा राख्ने उपाय, सही हात धुने तरिका, भान्छा सरसफाइ र सुरक्षित भण्डारण,
- पोषणको महत्त्व-कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिजको सन्तुलन तथा स्थानीय खाद्य पदार्थ (कोदो, फापर, मकै, हरियो सागपात) को उपयोग,
- लेबल रिडिङ-प्याकेटमा उल्लेखित Exp. Date, Batch Number र Ingredients हेर्ने प्रयोगात्मक अभ्यास,
- मिसावट र गुणस्तर-दुध, तेल र मसलामा हुन सक्ने मिसावट छुट्याउने तरिकाबारे जानकारी दिइएको थियो ।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले जङ्क फुड कम गर्ने र घरमै बनेको ताजा खाजा खाने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
विद्यालय परिवारले आगामी दिनमा क्यान्टिनमा जङ्क फुड निषेध गर्दै स्वास्थ्यकर खानाको व्यवस्थापन गर्ने पहल गर्ने जनाएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खाद्य अनुसन्धान अधिकृत सरस्वती गिरीले गर्नुभएको थियो ।