पोखरा । “घरको फोहर व्यवस्थापन गरौँ, कौसीमा हरियाली र स्वस्थ तरकारी फलाऔँ” तथा “स्वस्थ जीवनका लागि अर्गानिक खानपान” भन्ने सन्देशसहित पोखरा महानगरपालिका–८ मा कौसी तथा करेसा खेती गर्ने कृषकका लागि माटोको उर्वरा शक्ति वृद्धि, माटो उपचार तथा जैविक खेतीसम्बन्धी तालिम तथा बीउ वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडास्तरीय कृषि सञ्जाल वडा नं. ८, कास्कीको आयोजना तथा पोखरा महानगरपालिका–८ को सहयोगमा २०८३ जेठ ३१ गते वडा कार्यालयको सभाकक्षमा एकदिने तालिम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुद्रनाथ बरालले विषादी र रासायनिक मलको विकल्पका रूपमा प्राङ्गारिक मलको प्रयोग तथा अर्गानिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले तरकारी तथा अन्य बालीनालीमा लाग्ने कीरा नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग घटाई विषादीरहित उत्पादनमार्फत उपभोक्ताको स्वास्थ्य संरक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
वडा अध्यक्ष बरालका अनुसार तालिममा सहभागी १४० जना कौसी तथा करेसा खेती गर्ने कृषकलाई १० प्रकारका तरकारीका बीउ वितरण गरिएको छ ।
मौसम र आवश्यकताअनुसार कृषि सामग्री वितरण कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको जैविक गुण नष्ट हुने भएकाले प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले माटो परीक्षण गरेर आवश्यक पोषक तत्व पहिचान गरी खेती गर्नुपर्ने, एउटै जग्गामा निरन्तर एउटै बाली नलगाई बाली चक्र अपनाउनुपर्ने तथा राम्रोसँग कुहिएको गोठे मल वा गड्यौला मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति बढ्ने बताउनुभयो ।
उहाँले बस्ती क्षेत्रमा निस्किने कुहिने फोहरलाई मलमा रूपान्तरण गरी कौसी तथा करेसा खेतीमार्फत अर्गानिक तरकारी तथा फलफूल उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो ।
तालिममा सहजकर्ता दिब्य बरालले माटोको उर्वरा शक्ति वृद्धि तथा माटो उपचारसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने प्रशिक्षक दुर्गा अधिकारीले जैविक विधिबाट तरकारी उत्पादनसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।
वडा सदस्यहरू पवित्रा केसी, लक्ष्मी विक र गोविन्द बरालले घरमा उत्पादन हुने कुहिने फोहरलाई मलमा रूपान्तरण गरी कौसी तथा करेसा खेती विस्तार गर्न आग्रह गर्नुभयो ।
यसले फोहर व्यवस्थापनसँगै हरियाली प्रवर्धन, स्वस्थ तरकारी उत्पादन र अर्गानिक खानपानमा योगदान पुग्ने उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी कृषकहरूले यस्ता तालिमले आधुनिक, सुरक्षित तथा वातावरणमैत्री कृषि प्रणाली अपनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।
सञ्जालकी अध्यक्ष साबित्रा अधिकारी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक दुर्गा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सदस्य शोभा पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमबाट टोल विकास संस्था, कौसी खेतीमा संलग्न महिला तथा अन्य सरोकारवालासहित १ सय ४० जना कृषक लाभान्वित भएका छन् ।