मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

बागमती प्रदेशमा मानवअधिकार रक्षकसम्बन्धी तालिम सम्पन्न

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडामा मानव अधिकार रक्षकसम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत २०८२ मङ्सिर २० र मङ्सिर २१ गते भएको तालिम आज समापन गरिएको हो ।

समापन सत्रमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख चन्द्रकान्त चापागाईंले नेपालको संविधानमा उल्लेखित मौलिक हक तथा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धिमा समेटिएका अधिकार नागरिकले भोग गर्न पाउने जन्मसिद्ध हक भएको बताउनु भयो ।

उहाँले राज्यका तीनै तहका सरकारलाई शान्ति, सुशासन र मानव अधिकारमैत्री समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार संरक्षण र कार्यान्वयनको अवस्थाको अनुगमन गर्नु मानव अधिकार रक्षकहरूको जिम्मेवारी भएको उल्लेख गर्नु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले तालिमले मानव अधिकार रक्षकहरूलाई कानुनी ज्ञान, बहसपैरवी क्षमता, वार्षिक कार्ययोजना निर्माण तथा व्यवहारिक कार्यान्वयनमा सक्षम बनाउने उद्देश्य रहेको बताउनु भयो ।

तालिमका क्रममा बालअधिकार संरक्षण र स्थानीय मानव अधिकार रक्षकहरूको भूमिकामा प्रदेश स्तरीय बालअधिकार समिति, सामाजिक विकास मन्त्रालयका सदस्य प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भयो ।

समापन सत्रमा सहभागीहरूको तर्फबाट बोल्दै सिन्धुलीका पत्रकार तथा मानव अधिकार रक्षक रुद्रबहादुर खड्काले मानव अधिकार संवेदनशील विषय भएकाले स्थानीय समुदायमा चेतना अभिवृद्धि गर्न तालिम उपयोगी भएको बताउनु भयो ।

उहाँले ग्रामीण क्षेत्रमा मानव अधिकार संरक्षणका क्रममा जोखिम र चुनौतीहरू पनि रहेको उल्लेख गर्नु भयो ।

तालिममा बागमती प्रदेशका १३ ओटै जिल्लाका ४० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News