मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ऐतिहासिक सिन्धुलीगढीमा पर्यटकको आकर्षण बढ्दै

रूद्रबहादुर खड्का, सिन्धुली

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ३ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै आएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा अवस्थित सिन्धुलीगढीमा हाल दैनिक २ सयभन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलका अनुसार गढी दरबारलगायत अन्य ऐतिहासिक संरचनाको पुनर्निर्माण र युद्ध सङ्ग्रहालय सञ्चालनमा आएपछि यहाँ पर्यटकको आगमन निरन्तर रूपमा बढिरहेको छ ।

नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि नै कुहिरो, हरियाली र प्राकृतिक दृश्यको मनमोहक संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

गर्मी तथा जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको शीतल मौसम, स्वच्छ हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।

हाल जुनार र सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी भ्रमणमा आउने आन्तरिक तथा भारतीय पर्यटकहरूले स्थानीय उत्पादन उपहारका रूपमा लैजाने गरेको स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ ।

नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ ।

कमलामाई नगरपालिका क्षेत्रमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब ८ करोड रुपियाँको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप थप बढेको हो ।

सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।

विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा सिन्धुलीगढीमा दैनिक १ हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गरेका छन् ।

पछिल्लो एक वर्षयता अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी भ्रमणमा आउन थालेका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, सिन्धुलीका अध्यक्ष उद्दवकुमार श्रेष्ठका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीसमेत अवलोकन गर्न सक्छन् ।

ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र विकसित पूर्वाधारका कारण सिन्धुलीगढी बिस्तारै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

Author

Related News