ललितपुर । आज (भाद्र शुक्ल पूर्णिमा, आइतबार) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श भई १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ ।
यस क्रममा राति ११ बजेर १५ मिनेटमा सम्मीलन, ११ बजेर ५६ मिनेटमा मध्य र १२ बजेर ३८ मिनेटमा उन्मीलन हुने छ ।
खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहणको अवधि ३ घण्टा ३० मिनेट रहने समितिले जनाएको छ ।
नेपाल, भारतसहित एसियाका धेरै देशहरूबाट यसलाई सुरुदेखि अन्तसम्म प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।
चन्द्रग्रहण कसरी लाग्छ?
चन्द्रग्रहण लाग्नुको वैज्ञानिक कारण पृथ्वी, सूर्य र चन्द्रमा सीधा रेखामा पर्नु हो । जब पृथ्वी सूर्य र चन्द्रमा बिचमा आइपुग्छ र पृथ्वीको छायाँ चन्द्रमामाथि पर्छ, त्यसबेला चन्द्रग्रहण लाग्छ ।
- खग्रास चन्द्रग्रहण : चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायाँभित्र प्रवेश गर्छ ।
- आंशिक (खण्डग्रास) चन्द्रग्रहण : चन्द्रमाको केही मात्र भाग छायाँमा प्रवेश गर्छ ।
- उपछायाँ चन्द्रग्रहण : चन्द्रमा पृथ्वीको उपछायाँमा मात्र पर्छ, जुन प्रायः खुला आँखाले प्रष्ट देखिँदैन ।
आजको ग्रहण खग्रास चन्द्रग्रहण भएकाले रातको बिचमा चन्द्रमा पूर्ण रूपमा रातो-तामासी रङ्को देखिनेछ । यसलाई प्रायः “Blood Moon” पनि भनिन्छ ।
किन रातो देखिन्छ चन्द्रग्रहणमा?
ग्रहणको समयमा पृथ्वीले सूर्यको सीधा प्रकाश रोकेको हुन्छ । तर, पृथ्वीको वायुमण्डलले केही प्रकाशलाई मोडेर चन्द्रमातर्फ पठाउँछ ।
- छोटो तरङ्गदैर्ध्य (निलो, बैजनी) वायुमण्डलले छर्दा
- लामो तरङ्गदैर्ध्य (रातो, सुन्तला) मात्र चन्द्रमामा पुग्छ ।
त्यसैले पूर्ण ग्रहणको बेला चन्द्रमा रातो वा तामासी देखिन्छ ।
स्वास्थ्यमा असर पर्छ त ?
वैज्ञानिक दृष्टिले चन्द्रग्रहण पूर्णतया हानिरहित हुन्छ । यसलाई खुला आँखाले हेर्दा आँखा वा शरीरमा कुनै असर गर्दैन ।
तर सूर्यग्रहण भने खाली आँखाले हेर्न मिल्दैन, किनभने सूर्यको तीव्र किरणले आँखामा क्षति पुर्याउन सक्छ।
आगामी ग्रहण
ज्योतिषशास्त्रीहरूका अनुसार आगामी फागुन १९ गते, फागु पूर्णिमाको दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ ।