मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

एनटिएचएमसीमा तोफु उत्पादन तालिम सुरु

पोखरा पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)मा १५ दिने तोफु (भटमासको पनिर) उत्पादनसम्बन्धी तालिम सुरु भएको छ ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीका अनुसार तालिममा होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधि, टोल विकास संस्था, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि तथा इच्छुक सर्वसाधारणको सहभागिता रहेको छ ।

तालिममा भारतबाट आएका प्रशिक्षक नरहरि गुप्ता र भरत विश्वनाथ, भेगन ट्राभल एसियाका सहसंस्थापक ज्याक लोभाज तथा आतिथ्य क्षेत्रका अनुभवी विज्ञ आरएच सिंह चौहानले प्रशिक्षण दिइरहनुभएको छ ।

२६ वर्षदेखि पर्यटन तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको कलेजले यस तालिममार्फत शिक्षा सँगसँगै उत्पादन र रोजगारी सिर्जनातर्फ अग्रसर हुने लक्ष्य लिएको जनाएको छ । विदेशी संस्था र विज्ञहरूको सहकार्यमा कलेजले तोफु उत्पादन प्रविधि भित्र्याएको हो ।

तालिमका मुख्य आकर्षणमध्ये भेगन ट्राभल एसियाका विज्ञहरूको सहभागिता रहेको छ । कलेजको पूर्वाधार र गुणस्तरबाट प्रभावित भई विदेशी टोलीले अत्याधुनिक तोफु मेसिन उपहारस्वरूप प्रदान गरेको छ, जुन हाल जडानको चरणमा रहेको छ ।

प्रिन्सिपल रेग्मीले स्वस्थ जीवनशैली प्रवर्धन गर्दै भेगन खाद्य संस्कृतिको विकास र भटमासबाट तयार हुने उच्च प्रोटिनयुक्त तोफुलाई स्थानीय बजारमा विस्तार गर्ने योजना रहेको बताउनु भयो ।

कलेजले उत्पादन गर्ने तोफुलाई पोखराका अस्पताल, होटल तथा क्याम्पहरूमा ब्राण्डेड उत्पादनका रूपमा आपूर्ति गर्ने लक्ष्य राखिएको छ ।

उहाँले यो तालिम केवल सीप अभिवृद्धिमा सीमित नभई भविष्यका प्रशिक्षक उत्पादन गर्ने अवसरसमेत भएको उल्लेख गर्नु भयो ।

आगामी दिनमा ठूलो मात्रामा उत्पादन र प्याकेजिङका लागि तालिमप्राप्त व्यक्तिहरूलाई नै रोजगारीमा प्राथमिकता दिइने पनि उहाँले जानकारी दिनु भयो ।

तालिममा कलेजका कर्मचारी, होटलका सेफ, टोल विकास समितिका प्रतिनिधि तथा महिला सशक्तीकरणसँग सम्बन्धित संस्थाका सदस्यहरूको सहभागिता रहेको छ ।

यसले पोखराको पर्यटन बजारमा नयाँ र स्वस्थ खाद्य परिकारको विकल्प थप्ने विश्वास गरिएको छ ।

Author

Related News