मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

आजको एमाले : आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता

नेपालको राजनीतिमा नेकपा एमाले लामो इतिहास, जनआधार र वैचारिक प्रभाव भएको दल हो । तर, समयसँगै कुनै पनि राजनीतिक सङ्गठनले आफूलाई बदलिँदो समाज, नयाँ पुस्ता र जनअपेक्षाअनुसार रूपान्तरण गर्न सक्नुपर्छ । एमालेभित्र देखिएका साङ्गठनिक कमजोरी, जनसम्बन्धमा आएको ह्रास, नेतृत्व शैलीका समस्या तथा भविष्यका सम्भावित सुधारका दिशाहरूलाई गम्भीर रूपमा विमर्श र विश्लेषण गरिनु पर्दछ ।

पार्टीभित्र खुला बहस र विचार विमर्शको परम्परा कमजोर बन्दै गएको छ । संवादको सङ्कुचन, हुकुमवादी कार्यशैली र जनसङ्गठनहरूको स्वायत्ततामाथिको हस्तक्षेपले कार्यकर्तामा उत्साह घटाएको देखिन्छ । पार्टीभित्र सहकार्यको संस्कृति कमजोर हुँदा आदेशमुखी संरचनाले लोकतान्त्रिक अभ्यासलाई सीमित बनाएको छ । यसले सङ्गठनभित्र असन्तुष्टि बढाउने र जनतासँगको सम्बन्ध कमजोर बनाउने खतरा पैदा गरेको छ ।

जनसम्बन्धमा उल्लेख्य ह्रास आएको छ । जिल्ला कमिटीहरू “मन जित्ने” भन्दा “मत जित्ने” राजनीतिमा केन्द्रित भएको टिप्पणी गरिएको छ । जनतासँग निरन्तर संवाद गर्ने, उनीहरूको समस्या सुन्ने र समाधानमा अग्रसर हुने चरित्र कमजोर बन्दै जाँदा राजनीतिक सङ्गठन केवल निर्वाचन केन्द्रित संरचनामा सीमित हुने जोखिम देखिन्छ । नागरिकसँगको भावनात्मक सम्बन्ध कमजोर भए राजनीतिक शक्ति दीर्घकालीन रूपमा टिक्न सक्दैन भन्ने सन्देश दस्तावेजले दिन खोजेको छ ।

यद्यपि विगत दशकका विकास उपलब्धिहरूलाई पनि सकारात्मक रूपमा लिनु पर्दछ । आर्थिक तथा भौतिक पूर्वाधार क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ । उदाहरणका रूपमा प्रतिव्यक्ति आय वृद्धि, विद्युत् उत्पादनमा विस्तार, सडक सञ्जालको वृद्धि, साक्षरता दरमा सुधार तथा गरिबी दरमा कमी आएको तथ्याङ्क प्रस्तुत गरिएको छ । साथै ९९ प्रतिशत विद्युत् पहुँच, पूर्वाधार निर्माण र सामाजिक सुरक्षामा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भनिएको छ ।

“संरचनामुखी विकास मात्र होइन, मान्छे चिन्ने र मान्छे बनाउने उन्नति आवश्यक छ” भन्ने विचारलाई विशेष स्मरण गर्नु आवश्यक छ । यसको अर्थ केवल सडक, भवन र भौतिक संरचना निर्माणले मात्र समाज समृद्ध हुँदैन । नागरिकको चेतना, उत्पादन क्षमता, नैतिकता र आत्मसम्मानको विकास पनि समान रूपमा आवश्यक हुन्छ । वास्तविक समाजवादको आधार उत्पादनशील नागरिक र सामाजिक उत्तरदायित्व भएको राज्य व्यवस्था हुनुपर्ने दस्तावेजको मूल सन्देश देखिन्छ ।

भविष्यका लागि गर्नुपर्ने सुधारका कार्यक्रम अगाडि सार्नु र विगतका कमजोरीलाई आत्मसाथ गर्नु सबैभन्दा महत्वपूर्ण मानिन्छ । नेतृत्वमा कार्यकाल सीमा, जनसङ्गठनको स्वायत्तता, निर्वाचनमा हारको जिम्मेवारी, विज्ञ र सक्षम व्यक्तिलाई प्रत्यक्ष अवसर, वैज्ञानिक मूल्याङ्कन प्रणाली, प्राथमिक निर्वाचन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता जस्ता प्रस्तावहरू छन् । यस्ता सुधारहरूले पार्टीलाई बढी लोकतान्त्रिक, उत्तरदायी र आधुनिक बनाउन सहयोग पुग्न सक्छ ।

त्यसैगरी “शून्य पूर्णकालीन कार्यकर्ता” को अवधारणाले राजनीतिलाई श्रम, उत्पादन र पेशासँग जोड्ने प्रयास गर्दछ । यसले राजनीतिलाई पेशागत निर्भरता होइन, सामाजिक जिम्मेवारीका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गर्छ । अनुसन्धानमा आधारित नीति निर्माण र विज्ञतामा आधारित जिम्मेवारी बाँडफाँडले सङ्गठनलाई व्यावसायिक र प्रभावकारी बनाउन सक्छ ।

नयाँ पुस्ताको आगमनलाई केवल उमेर परिवर्तनको रूपमा नभई विचार र कार्यशैलीको रूपान्तरणका रूपमा लिनु पर्दछ । अनुभव, इतिहास र कार्यदक्षताको संयोजनमार्फत भविष्यको एमाले निर्माण गर्नुपर्ने आवश्यकता छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबिच सन्तुलन आवश्यक छ । यसलाई स्वीकार गर्नै पर्दछ ।

आत्मसमीक्षा र पुनर्गठन नै अहिलेको प्रमुख मार्गचित्र हो । एमालेलाई जनतासँग पुनः जोडिने, लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने र आधुनिक राजनीतिक सङ्गठनमा रूपान्तरण हुने अवसरका रूपमा हेरिनु पर्दछ । कुनै पनि राजनीतिक दलको शक्ति केवल चुनावी जितमा होइन, जनविश्वास, वैचारिक स्पष्टता र सङ्गठनात्मक संस्कृतिमा आधारित हुन्छ । यदि प्रस्तुत सुधारहरू व्यवहारमा लागू गर्न सकियो भने एमालेले पुनः जनआधारित, उत्तरदायी र प्रभावकारी राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न सक्ने सम्भावना देखिन्छ । पार्टीपङ्क्ति यही काममा दत्तचित्त भएर लागोस् ।

Share It
Facebook
Twitter
LinkedIn
अन्य