मानव आवाज

२०८३ असोज २८ गते
00: 00: 00
२०८३ असोज २८ गते

टान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनबाट सुवेदीको अध्यक्षतामा आगामी दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन विकासमा टानको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय पर्यटनमा मात्र केन्द्रित नभई पर्यटक आगमनको सङ्ख्या र पर्यटनको माग बढाउने नीतिमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

सबै आर्थिक स्तरका पर्यटकलाई आकर्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै सचिव निरौलाले पर्यटकको माग र आगमन बढेपछि गुणस्तरीय पर्यटनमा थप केन्द्रित हुन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार पर्यटन क्षेत्रमा योगदानका हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा रहेको छ भने कुल राजस्वमा पनि प्रदेशको योगदान उल्लेख्य छ ।

पोखराको पर्यटन विकासमा स्थानीय बासिन्दा र व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले निराशालाई आशामा बदल्नुपर्ने बताउनुभयो ।

पर्यटन विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निरौलाले पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान र विपद्पछिको पर्यटन क्षेत्रको पुनःस्थापनामा टानसँग सहकार्य गरिने बताउनुभयो ।

उहाँले नयाँ पदमार्गको पहिचान तथा विकासमा जोड दिँदै पर्यटनसम्बन्धी कानुनलाई समयसापेक्ष बनाउने र ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) लाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।

सन् २०२७ लाई वेलनेस टुरिजम वर्षका रूपमा मनाउने तयारी भइरहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्धनमा सरकारी तथा निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डेले पर्यटन विकासका लागि विदेशी पर्यटकमा मात्र निर्भर नभई आन्तरिक पर्यटकको योगदानलाई समेत महत्त्व दिनुपर्ने बताउनुभयो ।

उहाँले पर्यटनको परिभाषा, स्रोत बजार र लक्षित पर्यटकबारे स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै पदयात्रा पर्यटन प्रवर्धनमा सरकारी तथा निजी क्षेत्रबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालले तत्काल पर्यटक आगमन र माग बढाउने रणनीति अपनाएर त्यसपछि गुणस्तरीय पर्यटनमा थप केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेललगायतले पर्यटन विकास, पदमार्ग विस्तार तथा टिम्सको प्रभावकारी कार्यान्वयनका विषयमा धारणा राख्नुभएको थियो ।

टान गण्डकीको नयाँ कार्यसमिति

निर्वाचन समितिका संयोजक डम्बरबहादुर केसीका अनुसार नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सङ्ग्रौला, सचिवमा भुपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, कार्यकारिणी सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निर्वाचित हुनुभएको छ । बाँकी दुई सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान र विपद्पछिको पर्यटन क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले नयाँ पदमार्गको खोजी तथा प्रवर्द्धन, टिम्सको प्रभावकारी कार्यान्वयन, पदयात्राका क्रममा हुने दुर्घटना न्यूनीकरण तथा गाइड र पोर्टरको सुरक्षित रोजगारीका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नागरिक दैनिक र एभरेस्ट मिडियामा आबद्ध सञ्चारकर्मी सन्देश श्रेष्ठ र विश्व भण्डारीलाई जनही १० हजार रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । टानका पूर्वअध्यक्ष तथा सल्लाहकारहरूलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका सचिव गोपालकृष्ण सङ्ग्रौलाले प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष दीपकप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

टान गण्डकीमा हाल १ सय ५४ साधारण सदस्य रहेको र १३ कम्पनीलाई रिजर्भ एकाउन्टमा राखिएको कार्यक्रममा जानकारी दिइएको छ ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीर्थराज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव गोपालकृष्ण सङ्ग्रौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार