ललितपुर । चार दशकसम्म शिक्षण पेशामा समर्पित प्याङ्गाउँका माहिला महर्जनले लेख्नु भएका तीन कृति २०८२ कात्तिक ५ गते एकैसाथ लोकार्पण गरिएको छ ।
महर्जन १२ वर्षअघि सेवानिवृत्त हुनु भएको भए पनि सिर्जनशीलतामा भने अझै सक्रिय रूपमा लागिरहनुभएको छ ।
उहाँको लेखनीबाट हालै प्रकाशित तीन कृति‘प्याङगाउँको मौलिक नेपाल भाषाको ५ हजार शब्दको शब्दावली’, ‘हाम्रो संस्कार’ र ‘हाम्रो चाडपर्व’ एकैसाथ लोकार्पण गरिएको हो ।
नेपाल संवत् ११४६ को नयाँ वर्षको अवसर पारेर सम्पन्न उक्त समारोहमा लेखक महर्जनले आफ्ना पुस्तकहरू प्याङगाउँको भाषा, संस्कार र सांस्कृतिक धरोहरको संरक्षणका निम्ति समर्पित रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुस्तक प्रकाशनले स्थानीय संस्कार र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

साहित्यकार गोपाल सञ्जेलले पनि पुस्तकहरूले ललितपुरको चापागाउँस्थित प्याङगाउँको मौलिकता उजागर गरेको उल्लेख गर्नु भयो। उहाँले भन्नुभयो-“ललितपुरको चापागाउँ, चापागाउँको पनि प्याङगाउँ घना नेवारी बस्ती, तर काठमाडौं उपत्यकाका अन्य नेवार बस्तीभन्दा भिन्न भाषा र संस्कृति बोकेको ! यी कृतिहरूले त्यस मौलिक पहिचानलाई संरक्षण गरेका छन् ।”
माहिला महर्जनका यी कृतिहरूले केवल भाषिक र सांस्कृतिक दस्तावेज मात्र होइन, पुस्तान्तरण र पहिचान संरक्षणमा पनि नयाँ ऊर्जा थप्ने अपेक्षा रहको चापागाउँ गाविसका पूर्व अध्यक्ष चरसुन्दर महर्जनले बताउनु भयो ।