मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

लागुऔषध नियन्त्रण तीन महिने विशेष अभियान सञ्चालनमा आउँदै

पोखरा । कास्की जिल्लामा तीन महिनाको विशेष लागुऔषध नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ ।

लागूऔषध दुरूपयोग रोकथाम तथा नियन्त्रणका विषयमा कास्की जिल्ला प्रशासन कार्यालयको आयोजनामा २०८२ मङ्सिर २४ गते पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो जानकारी दिनु भएको हो ।

कार्यक्रम प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न भएको हो ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले लागूऔषधको दुरूपयोग कास्कीमा तीव्र रूपमा बढ्दै गएको बताउँदै कास्की देशभरि तेस्रो स्थानमा रहेको जानकारी दिनु भयो ।

प्रजिअ शर्माले पहिलो चरणमा सरोकारवाला निकायसँग छलफल गरेर कार्यविधि निर्माण, तीनै तहका सरकारको समन्वयमा लक्षित समूह र प्रयोगकर्तालाई अभिमुखिकरण गर्ने कार्यक्रम सञ्चालन गरिने बताइन्।

कार्यक्रममा सहायक प्रजिअ चित्राङ्ग बरालले बेरोजगारी, खुला सिमाना र बाह्य प्रभावका कारण कास्कीमा लागुऔषध प्रयोग बढेको बताउनु भयो ।


उहाँका अनुसार, कास्कीमा २६ देखि ३५ वर्ष उमेरका युवाहरू सबैभन्दा धेरै प्रभावित समूह रहेको छ ।

बरालले आपूर्ति नियन्त्रण, गाजा–अफिम उत्पादनमा रोक, शिक्षक तालिममा लागुऔषध सम्बन्धी पाठ्यक्रम समावेश, पर्यटकमाथि निगरानी, अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल तोड्ने जस्ता रणनीति प्रभावकारी हुने धारणा राख्नु भयो ।

कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले विद्यालय तहबाटै सकारात्मक सोच, नैतिक शिक्षा, आचरण विकास र जनचेतनामूलक कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिए । साथै, यी विषयहरू पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा पनि जोड दिए ।

Author

Related News