मानव आवाज

२०८३ असार २० गते
00: 00: 00
२०८३ असार २० गते

आनन्द मार्ग प्रचारक सङ्घ नेपालको तीनदिवसीय आध्यात्मिक कार्यशाला धुलिखेलमा सुरु

काभ्रे । आनन्द मार्ग प्रचारक सङ्घ, नेपालको आयोजनामा तीनदिवसीय विशेष आध्यात्मिक कार्यशाला २०८३ असार १९ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको छ ।

मानव जीवनको रूपान्तरण, आचरण शुद्धि र भक्ति मार्गको महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यशालामा देशका विभिन्न स्थानबाट आएका ६५ भन्दा बढी साधक तथा अनुयायी सहभागी छन् ।

उद्घाटन सत्रमा संघका केन्द्रीय प्रशिक्षक आचार्य विशुद्धात्मानन्द अवधूतले संघका संस्थापक गुरु श्री श्री आनन्दमूर्तिजीद्वारा प्रतिपादित दर्शन, ज्ञानमार्ग र साधना पद्धतिबारे प्रशिक्षण दिनुभयो ।

उहाँले दीक्षाको महत्व स्पष्ट पार्दै ‘दी’ को अर्थ ज्ञानको दीप प्रज्वलित गर्नु र ‘क्षा’ को अर्थ सञ्चित संस्कार तथा पापको क्षय गर्नु रहेको बताउनुभयो ।

दीक्षा प्राप्त गरेपछि गुरु र शिष्यबीच अभेद्य आध्यात्मिक सम्बन्ध स्थापित हुने उल्लेख गर्दै उहाँले ‘वराभय मुद्रा’ र ‘ज्ञान स्पर्श मुद्रा’ ले साधकको जीवनमा सकारात्मक आध्यात्मिक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणका क्रममा उहाँले ‘नन्दन विज्ञान’ र ‘मोहन विज्ञान’ को अवधारणाबारे पनि व्याख्या गर्नुभयो । उहाँका अनुसार नन्दन विज्ञान सौन्दर्य, कला र सङ्गीतसँग सम्बन्धित विज्ञान हो, जसले मानव जीवनलाई सुमधुर र सन्तुलित बनाउन योगदान पुर्‍याउँछ ।

प्रभात सङ्गीतलाई यसको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रत्येक साधकले कम्तीमा सात ओटा प्रभात सङ्गीत सिक्नुपर्ने परम्परा रहेको जानकारी दिनुभयो ।

त्यस्तै, मोहन विज्ञानले भक्ति, कीर्तन र निष्ठामार्फत परमपुरुष (ईश्वर) सँग आत्मिक सम्बन्ध स्थापित गर्ने मार्गलाई व्याख्या गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद बरालले आनन्द मार्ग कुनै सङ्कुचित धर्म वा सम्प्रदाय नभई सम्पूर्ण मानव जाति र जीवजगत्को कल्याणका लागि विकसित जीवन पद्धति भएको बताउनुभयो ।

उहाँले वर्तमान भौतिकवादी युगमा मानसिक शान्ति, नैतिक आचरण र आत्मिक उन्नतिका लागि यस्ता आध्यात्मिक कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष निलकण्ठ माकाजूले युवालाई कार्यशालाको सदुपयोग गर्दै आनन्द मार्गका गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो ।

असार २१ गतेसम्म सञ्चालन हुने कार्यशालामा सामूहिक साधना (साधना चक्र), प्रभात सङ्गीत गायन, कीर्तन, आध्यात्मिक स्वाध्याय तथा अनुशासित र सेवामूलक जीवनशैलीसम्बन्धी विभिन्न सत्र सञ्चालन हुने अध्यक्ष बरालले जानकारी दिनुभयो ।

Author

Share the News

Recent News

Related News