मानव आवाज

२०८३ कात्तिक ४ गते
00: 00: 00
२०८३ कात्तिक ४ गते

कृषिमल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

सिन्धुली । नेपाल सरकारबाट अनुदान प्राप्त कृषिमल कालोबजारी गर्दै अवैध रूपमा बिक्री गरिरहेको आरोपमा सिन्धुलीबाट तीन जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–९ स्थित दुधौली बजारमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका–९ निवासी विशेश्वर महतोका छोरा ४३ वर्षीय पशुपति महतो, सिराहा मिर्चैया नगरपालिका–२ निवासी शम्भु पण्डितका छोरा २५ वर्षीय रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका–३ निवासी पदमलाल बास्तोलाका छोरा ४९ वर्षीय लालप्रसाद बास्तोला रहेका छन् ।

प्रहरीले उनीहरूलाई स १ ख ८०० नम्बरको ट्रक र २ सय १६ बोरा मलखादसहित नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन मिर्चैयाबाट माघ १५ गते उदयपुरको दुर्गा भवानी कृषि सहकारी संस्था लिमिटेड, कटारीको नाममा पठाइएको २ सय १६ बोरा मलखाद बीच बाटोमै अनलोड गरी सिन्धुलीको दुधौली बजारमा ल्याएर अवैध रूपमा बिक्री गरिएको थियो ।

“खबर प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर मल बिक्री गरिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो,” एसपी सुवेदीले बताए ।

यसै क्रममा दुधौली नगरपालिका–९ निवासी पशुपति महतोको गोदाममा छापा मार्दा लुकाइ राखिएको ५० किलो तौलका ३ सय १८ बोरा अनुदानको मल थप बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद मल इलाका प्रहरी कार्यालय डकाहामा ल्याई अनुसन्धानपछि सिन्धुलीमाढीस्थित कृषि सामग्री कम्पनीमा सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट कालोबजारी तथा सामाजिक अपराध सम्बन्धी मुद्दामा एक दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

Author

सम्बन्धित समाचार