मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कृषिमल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

सिन्धुली नेपाल सरकारबाट अनुदान प्राप्त कृषिमल कालोबजारी गर्दै अवैध रूपमा बिक्री गरिरहेको आरोपमा सिन्धुलीबाट तीन जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–९ स्थित दुधौली बजारमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका–९ निवासी विशेश्वर महतोका छोरा ४३ वर्षीय पशुपति महतो, सिराहा मिर्चैया नगरपालिका–२ निवासी शम्भु पण्डितका छोरा २५ वर्षीय रामकृष्ण पण्डित र उदयपुर कटारी नगरपालिका–३ निवासी पदमलाल बास्तोलाका छोरा ४९ वर्षीय लालप्रसाद बास्तोला रहेका छन् ।

प्रहरीले उनीहरूलाई स १ ख ८०० नम्बरको ट्रक र २ सय १६ बोरा मलखादसहित नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन मिर्चैयाबाट माघ १५ गते उदयपुरको दुर्गा भवानी कृषि सहकारी संस्था लिमिटेड, कटारीको नाममा पठाइएको २ सय १६ बोरा मलखाद बीच बाटोमै अनलोड गरी सिन्धुलीको दुधौली बजारमा ल्याएर अवैध रूपमा बिक्री गरिएको थियो ।

“खबर प्राप्त भएपछि प्रहरीले निगरानी बढाएर मल बिक्री गरिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको हो,” एसपी सुवेदीले बताए ।

यसै क्रममा दुधौली नगरपालिका–९ निवासी पशुपति महतोको गोदाममा छापा मार्दा लुकाइ राखिएको ५० किलो तौलका ३ सय १८ बोरा अनुदानको मल थप बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद मल इलाका प्रहरी कार्यालय डकाहामा ल्याई अनुसन्धानपछि सिन्धुलीमाढीस्थित कृषि सामग्री कम्पनीमा सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट कालोबजारी तथा सामाजिक अपराध सम्बन्धी मुद्दामा एक दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

Author

Related News