मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

अध्यक्ष पहारीलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

मधु पन्थी, पोखरा  ।

छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई सार्वजनिक स्थलमा मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा (बहुमत) का पोलिटब्युरो सदस्य तथा पार्टी निकट युवाका संयोजक सुजन विक, अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिल अध्यक्ष राजन साउद र अर्का एक जना युवालाई  २०८२ असार २८ गते पक्राउ गरेको छ ।

मुख्य योजनाकारका रूपमा रहेका विकसहित तीन जनालाई  पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनु भयो ।

विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहारीमाथि दुर्व्यवहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रमुख ओलियाले बताउनु भयो ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले विद्यालयको मुख्य आय श्रोतको रूपमा रहेको पातलेछाँगो (डेभिडफल्स) व्यक्तिगत स्वार्थको लागि पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको आरोपमा अध्यक्ष पहारीलाई दुर्व्यवहार गरेको जनाइएको छ ।

यो प्रकरणमा विद्यार्थी सङ्गठनले अध्यक्ष पहारीलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो । पातले छाँगो २०३५ सालदेखि छोरेपाटन माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो ।

पातले छाँगो अहिले महानगरको मातहतमा गएको छ । पाताले छाँगोबाट शुल्क उठाउने र व्यवस्थापन गर्ने काम पोखरा महानगरपालिका आफैँले गर्दै आएको छ ।

सेती क्यान्यन प्रालिले पाताले छाँगोमा संरचना बनाउन महानगरसँग सम्झौतासमेत गरिसकेको थियो ।

सार्वजनिक स्थलमा अध्यक्ष पहारीमाथि भएको दुर्व्यवहारको नेकपा (एमाले), नेपाल शिक्षक महासङ्घ कास्कीसँग सम्वद्व एवम् आवद्ध सबै घटक संस्थाहरु, विद्यालय कर्मचारी, अनेरास्ववियु, छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्च समेतले विरोध  गरेका छन् । 

Author

Related News