ललितपुर । सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि लोकप्रिय कमेडी कार्यक्रम “कमेडी दरबार” युट्युबमा अपलोड नभएको निर्माण पक्षले जनाएको छ ।
कार्यक्रम निर्माण टिमले आफ्नो आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै दर्शकसमक्ष क्षमा मागेको छ ।
रमाइलो पक्ष के छ भने फेसबुक पनि सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल हो-जसमार्फत सूचना शेयर गर्दै कमेडी दरबारले युट्युबमा यो इपिसोड अपलोड नभएको जनाएको छ ।
स्टाटसमा भनिएको छ-“सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन । सामाजिक सञ्जाल (युट्युब सहित)मा प्रतिबन्ध लागेपछि जति नै गुनासो गरेपनि हाम्रो कार्यक्रम ‘कमेडी दरबार’ लाई युट्युबमा अपलोड गर्न सकिएन । क्षमा प्रार्थी छौँ भन्दा बढी केही भन्न पनि सकिएन ।”
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा नभएसम्म कमेडी दरबारको यो इपिसोडसहित आगामी इपिसोडसमेत टिभीमै सीमित हुने निश्चित भएको छ ।