बेमौसमकै भएता पनि निर्वाचन शान्तपूर्वक सम्पन्न भयो । बेमौसमको निर्वाचन किन ? यसको जबाफ नपाइकन निर्वाचन सकियो । बैमौसम यसअर्थमा कि संसदको अवधि बाँकी नै थियो । संसदले बनाएको वैधानिक सरकार पनि थियो । जेन-जी आन्दोलन मात्रै यसको सबै कारण होला या नहोला यो समयले नै बताउला ।
बिबिसी जस्तो विश्वसनीय अन्तर्राष्ट्रिय समाचार संस्थाको फिचर डकुमेन्ट्री र हिमाल खबर पत्रिकाजस्तो ख्यातिप्राप्त समाचार संस्थाहरुका आलेखहरुले केही खुलासा त गर्न खोजे तर यी पनि सन्देहमै सीमित रहे । केही योजनाबद्ध तयारी थियो भन्ने कुरोको छर्लङ्ग नभए पनि अधमरो आशङ्का बुझ्न गारो थिएन ।
शान्तिपूर्ण भनिएको जेन-जी आन्दोलन हिंसामा परिणत भयो । जन धनको ठुलो क्षति भयो । यति ठुलो विध्वंश यसअघिका ठुलै आन्दोलनमा पनि भएनन् । आन्दोलनको नाममा राजनीतिक मक्सद रहेछ भन्ने बुझ्न धेरै धैर्य गर्नै परेन । हिंसाले छिटो सत्तामा पुर्याउन सक्ने दृष्टान्त माओवादी नै उदाहरण छ । अन्तरिम सरकार, संसद विघटन र नयाँ निर्वाचन जेन-जी आन्दोलनको विन्यास थियो । यति कार्य हुन र गर्न धेरै पापड पेलियो जुन दृश्यमा आएनन् । सन्देह सन्देहमा नै निर्वाचनको तयारी गरियो ।
जेन-जी आन्दोलनको अर्को महत्वपूर्ण पक्ष के भने पोखरीमा जमेको बरफजस्तै टसमस हुन नमान्ने पुराना दलहरुको बरफ पग्लियो । दलका नेतृत्व निधार चाउरी पारेर सोच्न बाध्य भए । तर, घोषित निर्वाचनबारे यिनै दलहरु लामो समयसम्म दुविधामा रहे । पार्टीको आन्तिरिक अवस्थामा आएको धक्कामक्का मिलाउन अल्मलिए । अधिवेशन र महाधिवेशनतिर समय व्यतीत गरे । संसद पुनर्स्थापनाको अदालती अपेक्षातिर पनि अल्झिए ।
अबचाहिँ रास्वपाले गरे गरोस् नगरे फेरि देखा जायगा भन्नेसम्मको अवस्थामा मतदाता पुगेको देखियो । सुशासन र स्थिरता आम नागरिकले खोजेको विषय हो । जेन-जी पुस्ताले चाहेको पनि यत्ति हो । यत्ति प्रत्याभूति पनि दिन नसक्नु कांग्रेस, एमाले र माओवादीको लाचारीपन राम्रैसँग नापे यो निर्वाचनमा ।
एमालेको महाधिवेशनको म्याान्डेट नै संसद पुनर्स्थापना थियो । महाधिवेशनजस्तो महत्वपूर्ण थलोबाट घोषित नीतिलाई अत्तो न पत्तोसँग बिचैमा छोडेर एमाले हतार हतारमा चुनावतिरै मोडियो । कांग्रेसले विशेष महाधिवेशन गर्ने या नगर्ने दुविधामा लामो समय बितायो । दबाबमा सकेको महाविधवेशनले नेतृत्व परिवर्तन त गर्यो तर रातारात चुनाबमा होमिनुपर्यो । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने उद्घोषसहित गगन-विश्वले हाँकेको कांग्रेसले महाधिवेशनको सन्देश लान सकेन । उता एमाले त्यसमा पनि अध्यक्ष ओली केन्द्रीत घेराबन्दी तोड्ने न नीति बनायो न कार्यक्रम नै ! विरासतमा रमाउने र प्रतिपक्षीलाई कमजोर आँक्नु र त्यत्तिकै निर्वाचनमा होमिनुको निम्छरो परिणति आज उनीहरुकै हातमा छ ।
विगतमा कांग्रेस, एमाले, माओवादी मिलिभगतमा गरेका सत्ता केन्द्रीत स्वार्थले दिक्क वाक्क भएका मतदाताले भरपर्दो विकल्प नपाएर हैरानी थिए । अबचाहिँ रास्वपाले गरे गरोस् नगरे फेरि देखा जायगा भन्नेसम्मको अवस्थामा मतदाता पुगेको देखियो । सुशासन र स्थिरता आम नागरिकले खोजेको विषय हो । जेन-जी पुस्ताले चाहेको पनि यत्ति हो । यत्ति प्रत्याभूति पनि दिन नसक्नु कांग्रेस, एमाले र माओवादीको लाचारीपन राम्रैसँग नापे यो निर्वाचनमा ।
लोकप्रियातावाद विश्वमै चलेको पछिल्लो पद्धति हो । यहाँ यही लोकप्रियतावादको बाटो रास्वपाले लियो । यसको नेतृत्व रवी र बालेनले गरे । लोकप्रिय मत लिने रणनीति पनि खेर नजाने गरी बनाए ।
मतदाताले यस्तो कठोर निर्णय गरे कि कुनै कारणले पनि नयाँ विकल्पलाई मतको कमी नहोस् । मतान्तर तीन, चार गुनासम्म धेरै हुनुको यही कठोर निर्णयले नै हो । मानौँ, मुलुकैभरिका मतदाताहरु एकै ठाउँमा बसे । सल्लाह गरे अनि मतदान गर्न गए । बालेन, रवी र घन्टी । यत्ति कुरो मनमा राखे । आफन्त, नातागोता, भाषिक, जातजाति, समुदाय र सामाजिक सम्बन्ध केही हेरेनन् । रास्वपालाई प्रचण्ड बहुमत दिन चाहे । यो अपार र अकल्पनीय जनमतको भार निर्धक्कसँग रास्वपाको पोल्टामा सुम्पिएका छन् ।
लोकप्रियातावाद विश्वमै चलेको पछिल्लो पद्धति हो । यहाँ यही लोकप्रियतावादको बाटो रास्वपाले लियो । यसको नेतृत्व रवी र बालेनले गरे । लोकप्रिय मत लिने रणनीति पनि खेर नजाने गरी बनाए । चाहे उम्मेदवारी चयन होस् चाहे निर्वाचन माहोल बनाउने गतिविधि । राजनीति पटक्कै मन नपराउने नवपुस्ता निर्वाचनमा सक्रिय भए । नवयुवाको ठुलो पङ्क्तिले उम्मेदवारी दिने र निर्वाचनमा होमिने हिम्मत गरे । त्यो पनि घाघडान नेताहरुसँग ।
भक्तपुर र डँडेल्धुरा जस्ता अभेद्य मानिएका निर्वाचन क्षेत्रसमेत तोडियो । परिवर्तनको हुटहुटी र दृढ निश्चयको कठोर निर्णय हो यो मतदाताको । विगतका सत्ता स्वार्थको घिनलाग्दो लुछाचुडीलाई पन्छाउनै चाहेको अभिमत हो यो ।
परिवर्तनलाई गर्नैपर्ने निर्मम सम्बोधन गर्दैनौ भने डाँडा कटाइदिने सन्देश मतदाताले जबरजस्त रुपमा दिए । कांग्रेसको गगन-विश्व पुस्तालाई समेत विश्वास गरेको पाइएन । एमालेको तेस्रो पुस्तामा नेतृत्व जान्छ कि जान्न यसैमा निर्भर हुन्छ । नीति निर्णयहरु पनि जनमतमा आधारित हुन्छन् कि हुन्नन् यो पनि अब दलहरुले बढो होस् पुर्याउनुपर्ने छ ।
राजनीतिक रुपमा दास र मालिकको जस्तै अवस्था थियो नेता कार्यकर्ताहरुमा । यो पनि त्यही मौन विद्रोहको मतमार्फत तोडिदिए ।
यो निर्वाचनले केही अस्थिर राजनीतिक दलहरुलाई किनारा लगाइदिएको छ । राप्रपा र मधेसवादी दलहरु यो कित्तामा पर्छन् । योसँगै उनीहरुका माग र मुद्दा किनारा पर्लान् भन्ने चिन्ता थपिएको छ । अर्को महत्पपूर्ण पाटो यो निर्वाचनले वामपन्थी शक्ति कमजोर भएका छन् । धेरै घटक भएता पनि नेपालका वामपन्थी पार्टीहरु लोकतान्त्रिक शक्तिका रुपमा स्थापित छन् । लोकतन्त्रका लागि गरेको योगदानका आधारमा जनमतको ठुलो हिस्सा थिए । मुलधारको अर्को लोकतान्त्रिक शक्तिको पर्यायको रुपमा रहेको कांग्रेस पनि खुम्चिएको छ । यस परिघटनाको असर के कति हुने हो त्यो भोलिका दिनमा नै देखिएला ।
आम मतदाताले मतमार्फत मौन विद्रोह गरे । बढो शालीन र शिष्ट विद्रोह गरे । परिवर्तनको हुँकार गरे । नेता कार्यकर्ताले बोल्न नसकेको कुरो उनीहरुले मतमा बोलिदिए । पाँचौँ, सातौँ, आठौँ पटकसम्म पहुँचकै भरमा पार्टीको उम्मेदवार बनेका व्यक्तिहरुलाई सहजै पन्छाइदिए । जो तिनै पार्टीका कार्यकर्ताहरुले मनमै राख्थे, बोल्न सक्तैनथे । राजनीतिक रुपमा दास र मालिकको जस्तै अवस्था थियो नेता कार्यकर्ताहरुमा । यो पनि त्यही मौन विद्रोहको मतमार्फत तोडिदिए ।
रास्वपा कस्तो राजीतिक शक्ति हो ? खहरे भेल वा भारतको आम आद्मी पार्टीको नेपाली संस्करण ? हाम्रो भूराजनीतिक अवस्थितिलाई सन्तुलन गर्न सक्ला या नसक्ला ? राज्य संयन्त्र चलाउन सक्ला वा नसक्ला ? परिपक्वता देखाउन सक्ला वा नसक्ला ? समयको माग र गतिलाई बुझ्न नसकेर अर्को भुमरीमा फस्ने पो हो कि ? नयाँ नयाँ भन्दै उरन्ठेउलो पाराले भँड्खारोमा परिने पो हो कि ? शङ्काको भरपूर सुविधा राख्दै रास्वपालाई यो अद्भूत अभिमतका लागि बधाई र शुभकामना दिऔँ ।