पोखरा । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ बाग्लुङले २०८२ साउन ३१ गते तेस्रो जिल्ला भेला सम्पन्न गरेको छ ।
भेलामा उद्योगी–व्यवसायीहरूले राज्यको गलत नीतिका कारण लगानी असुरक्षित बनेको गुनासो गरेका छन् ।
कार्यक्रमका प्रमुख वक्ता तथा केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलले खुला अर्थनीतिले स्वदेशी उद्योगलाई धरासायी बनाउँदै बहुराष्ट्रिय कम्पनीलाई लाभ हुने वातावरण सिर्जना गरेको बताउनु भयो ।
यसले युवालाई विदेश पलायनतर्फ धकेलेको उल्लेख गर्दै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण नगरेसम्म देश समृद्ध नहुनेमा जोड दिनु भयो ।
सङ्घका जिल्ला अध्यक्ष पदम श्रेष्ठले उद्योग-व्यापार प्रवर्धन र आत्मनिर्भर बाग्लुङ अभियानलाई सफल बनाउन व्यवसायीलाई सङ्गठित गर्ने उद्देश्यले जिल्ला भेला आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, जिल्ला सचिव भीमलाल पोख्रेल, युवक सङ्घका केन्द्रीय सचिव वीरेन्द्र थापा, उद्योग व्यापार सङ्घ कास्कीका सचिव भागीरथ शर्मा र टिकाराम आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भेलाले सहबीन अर्गेजाको नेतृत्वमा नौ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष गुमानसिंह खत्री, सचिव विष्णु कँडेल, कोषाध्यक्ष टिकाराम आचार्य, सहसचिव बिमल पौडेल रहनु भएको छ भने सदस्यमा केशवप्रसाद सुवेदी, विष्णु अधिकारी, सवराज छन्त्याल र बेलु गिरी चयन हुनु भएको छ ।
त्यसैगरी समितको सल्लाहकारमा पद्मम श्रेष्ठ, थानेश्वर सुवेदी र सहबीन श्रीस रहनु हुने जनाइएको छ ।
कार्यक्रम सङ्घका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता र सचिव सहबीन अर्गेजाको सञ्चालनमा सम्पन्न भएको हो ।