मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण जेठ २० मा हुने

पोखरा । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण आगामी २०८३ जेठ २० गते आयोजना हुने भएको छ ।

पोखरामा २०८३ जेठ ६ गते आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले प्रतियोगिताबारे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा रहेको टोलीले अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको ७६औँ वर्षगाँठको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

अध्यक्ष गुरुङका अनुसार अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार विकास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पुरुष र महिला दुवै विधामा प्रतियोगिता सञ्चालन गरिनेछ ।

“सबै मौसमका लागि पर्यटन” नारासहित आयोजना हुने म्याराथन समुद्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ ।

प्रतियोगिताको रुट अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, हिन्कु केभ, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला र उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर समापन हुनेछ ।

अध्यक्ष गुरुङले अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद तथा पर्यटन प्रवर्धन कार्यक्रमका रूपमा विकास गर्दै लगिएको बताए ।

आयोजकका अनुसार प्रतियोगितामा करिब ७० जना धावक सहभागी हुने अनुमान गरिएको छ । हालसम्म नेपाल, भारत, हल्याण्ड, थाइल्याण्ड, फ्रान्स र अर्जेन्टिनासहित ६ देशका ४० जना धावकले नाम दर्ता गराइसकेका छन् । तीमध्ये १३ जना विदेशी धावक तथा तीन जना विदेशी महिला धाविका रहेका छन् ।

आयोजकका अनुसार अर्जेन्टिनाका चर्चित धावक पाव्लो उरेटले पनि प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको छ ।

म्याराथनको सम्पूर्ण प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीले गर्नेछ । संस्थाका निर्देशक रिकी योञ्जनले उच्च हिमाली क्षेत्रमा हुन सक्ने स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य उपचार तथा सुरक्षा तयारी गरिएको जानकारी दिए ।

प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार रुपियाँ, द्वितीयलाई १ लाख रुपियाँ तथा तृतीयलाई ७५ हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत विभिन्न सङ्घसंस्था तथा स्थानीय पर्यटन व्यवस्थापन समितिहरूले सहयोग गर्ने जनाइएको छ ।

Author

Share the News

Recent News

Related News