पोखरा । पोखरा महानगरपालिका-८ मा रहेको जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
‘आर्थिक समृद्धिका लागि जनसेवा’ भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाको साधारणसभा २०८३ असोज १० गते सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी, साहित्यकार तथा पूर्वमन्त्री त्रिलोचन ढकालले सहकारीका सात सिद्धान्तलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न सके सहकारीको मर्मअनुसार काम हुने बताउनुभयो ।
सहकारीकर्मीहरूले आफ्नो संस्थालाई सबल र सुदृढ बनाउन सके मुलुकको आर्थिक विकासमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।
साधारणसभामा संस्थाले हालसम्म हासिल गरेको प्रगति, वित्तीय अवस्था, सदस्यलाई प्रदान गर्दै आएको सेवा तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।
संस्थाका अध्यक्ष तीर्थ शर्मा ढकालले प्रस्तुत गर्नुभएको २०८३ भदौ ३१ गतेसम्मको वित्तीय विवरणअनुसार संस्थाको शेयर पुँजी २ करोड ४१ लाख १३ हजार ३ सय रुपियाँ रहेको छ । विभिन्न कोषमा ६ लाख २९ हजार ७ सय २१ रुपियाँ ६१ पैसा रहेको संस्थाले जनाएको छ ।
त्यस्तै, संस्थाको कुल बचत ४ करोड २० लाख ९७ हजार ४ सय ६१ रुपियाँ ३७ पैसा रहेको छ भने लगानीमा रहेको कर्जा ७ करोड १ लाख ४५ हजार १ सय ५६ रुपियाँ रहेको छ ।
संस्थाको तरलता रकम २० लाख ९ हजार ६ सय ५३ रुपियाँ ५९ पैसा रहेको र तरलता अनुपात ५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
हाल संस्थामा ५ सय १४ जना शेयर सदस्य र २ सय १२ जना ऋणी सदस्य रहेका छन् । भदौ मसान्तसम्म संस्थाले २ लाख ३४ हजार २ सय ६४ रुपियाँ ३० पैसा नाफा आर्जन गरेको जनाएको छ ।
संस्थाको सञ्चालन स्वसक्षमता ९५ प्रतिशत तथा कुल सम्पत्ति करिब ७ करोड ५१ लाख रुपियाँ रहेको छ ।
कार्यक्रममा गणपति लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विष्णु ढकाल, एनएमबी लघुवित्तका कार्यकारी प्रमुख सजल खड्का, संस्थापक अध्यक्ष केशव ढकाल, सामाजिक विकास मन्त्रालयका उपसचिव टङ्क ढकाल, यातायात कार्यालय कास्कीका प्रमुख नारायणप्रसाद ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै दिवस ढकाल, बाबुराम ढकाल, ऋषिराम ढकाल, दीपेन्द्रराज ढकाल, कृतिनाथ देवकोटा, रामप्रसाद भण्डारी र खेमनारायण रेग्मीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष तीर्थ शर्मा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थापक सचिव धर्मदत्त आचार्यले गर्नुभएको थियो ।