मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पुम्दी–भुम्दीमा असोज पहिलो साता दोस्रो पर्वतीय दौड हुँदै

पोखरा । पर्वतीय खेल पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले पुम्दी–भुम्दीमा दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आगामी २०८२ असोज ४ गते आयोजना हुने भएको छ। प्रतियोगितालाई भव्य र सफल बनाउन सरोकारवालाले पूर्ण प्रतिबद्धता जनाएका छन्।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले २०८२ साउन ८ गते पोखरामा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्ता गतिविधिले जन्मभूमिको पहिचान र राष्ट्रिय गौरव बढाउने बताउँदै प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


“हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पुर्‍याउनुपर्छ ।”-उहाँले भन्नु भयो । खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडेर यसलाई व्यापक आयामबाट हेर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याएर यो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउन लागिपरेको बताउनु भयो।

पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएको र पर्वतीय दौडजस्ता कार्यक्रमले अन्य पर्यटनस्थलको पनि प्रवर्धन गर्ने उहाँको भनाइ थियो।

विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङ र सचिव दुर्गाबहादुर गुरुङले प्रतियोगितालाई उत्सवकै रूपमा सफल बनाउन सबैको सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले स्वयम्सेवक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी परिषद्ले लिने जानकारी दिनु भयो ।

कार्यक्रम संयोजक दीननाथ बरालका अनुसार अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर पुरस्कार प्रणाली र व्यवस्थापन पक्ष अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ।

प्रतियोगिता पोखरा क्लिकको आयोजनामा, नेपाल पर्यटन बोर्डको प्रवर्धन, गण्डकी प्रदेश खेलकुद परिषद्को समन्वय, पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य तथा सिटीवान टेलिभिजनको अफिसियल मिडिया पार्टनरशिपमा हुने छ।

पोखरा क्लिकका वरिष्ठ सम्वाददाता असफल गौतमका अनुसार यो प्रतियोगिताले स्थानीय प्रतिभा प्रोत्साहनसँगै खेल र पर्यटन प्रवर्धनमार्फत सामुदायिक एकता र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने छ।

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना हुने प्रतियोगिताका लागि धावकले भदौ पहिलो सातादेखि अनलाइन फर्ममार्फत दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सागर सुनारले जानकारी दिनु भयो ।

Author

Related News