ललितपुर । ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथारोहण २०८३ वैशाख ५ गते सम्पन्न भएको छ । रथारोहणसँगै यस वर्षको जात्रा विधिवत् रूपमा सुरु भएको छ ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्पराअनुसार यस वर्ष पनि रथारोहण सम्पन्न गरिएको हो ।
परम्पराअनुसार त:बहालबाट देवताको मूर्तिलाई खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा पुर्याई विधिवत् रूपमा विराजमान गराइएको छ । यससँगै जात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
मच्छिन्द्रनाथलाई वर्षको ६ महिना त:बहाल मन्दिर र बाँकी ६ महिना बुङ्गमतीमा राख्ने परम्परा रहेको छ । यसअघि देवतालाई बुङ्गमतीबाट ल्याई पाटनको त:बहालमा स्थापना गरिएको थियो । मच्छिन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका नामलेसमेत चिनिन्छ ।