पोखरा । मानवअधिकार रक्षक, सामाजिक अभियान्ता र सञ्चारकर्मीहरूको पेशागत र भौतिक सुरक्षा अहिले प्रमुख चुनौति रहेको २०८२ साउन १४ गते पोखरामा आयोजित कार्यक्रमका वक्ताहरू जोड दिनु भएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा मिडिया तथा सूचना साक्षरता र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो भनाइ राख्नु भएको छ ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकार रक्षकको संरक्षण र सुरक्षा सँगसगै सञ्चारकर्मी पनि सुरक्षाको हिसाबले असुरक्षित रहेको बताउनु भयो ।
मानवअधिकार रक्षक र सञ्चारकर्मीहरू सुशासन प्रवर्धन, मानवअधिकारमैत्री शासकीय स्वरूप तथा अधिकारमैत्री प्रणालीको स्थापनाका लागि मानवअधिकार रक्षकलाई कानुन बनाएर सुरक्षाको प्रत्याभूति गराउनु राज्यका निकायको दायित्व रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति का अध्यक्ष रमेश पौडेलले पत्रकार हत्या आक्रमण र अन्य प्रेस स्वतन्त्रतामाथिका गम्भीर प्रकृतिका घटनाले प्रेसमाथि विभिन्न चुनौति कायम रहेको बताउनु भयो ।
पौडेलका अनुसार सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ल्याउन लागेको सञ्चारसम्बन्धी विभिन्न ऐनले अझै पूर्णता पाएको छैन ।
मिडिया काउन्सिल ऐन, सूचना प्रविधिलगायत सञ्चारसम्बन्धी केही कानुन धेरै वर्षदेखि निर्माणको अवस्थामा रहेको र सरोकारवाला निकायले मिडियामैत्री एकीकृत कानुनका लागि सुझाव दिएको बताउनु भयो नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति उपाध्यक्ष जमुना शर्मा वर्षाले सामाजिक सञ्जालको प्रयोग बढेसँगै मिथ्या (गलत) सूचनाले स्थान पाएको उल्लेख गर्दै विभिन्न समूहको नाममा प्रचारवाजीका कारण मिथ्या सूचनाको अपजस सञ्चार माध्यमले भोग्नु परेको छ यसले थप चुनौति भोग्नु परेको उल्लेख गर्नु भयो ।

नागरिक दैनिकका पत्रकार सन्तोष पोखरेलले मिडिया र सूचना साक्षर हुन आवश्यक सीप,मिडिया र सूचनासम्म पहुँच, सूचनाको मूल्याङ्कन सूचना निर्माण:प्रकाशन, सूचनामाथि आलोचनात्मक दृष्टि, सूचनाको छनोट बिषयमा सहजीकरण गर्नु भएको थियो ।
मानव अधिकार आयोग पोखराका प्रमुख नितु गर्तौला, गैर सरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष गोपाल खड्का, दलित महिला सङ्घ (फेडो) का संयोजक इश्वरी विक, अधिवक्ता एवम् एड्भोकेसी फोरमका कुञ्जनी परियार र बालहितकारी परियोजनाका संयोजक केशव पौडेललगायतले सही,सत्य र तथ्य समाचार प्रसारण गरिनुपर्ने, न्यूज र भ्युजले सही सूचना प्रवाह गर्नुको सट्टा गलत समाचारले स्थान पाएकोले सचेत हुनु पर्ने, मानवअधिकार शब्द जीवनसँग जोडिएको विषय भएकाले सञ्चारकर्मी र अधिकारकर्मी आफैँ सुरक्षित रहँदै अधिकारको पक्षमा बोल्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रम अधिकारकार्मी, नागरिक समाज, सञ्चारकर्मी र सामाजिक अभियान्ता गरी ४२ जना सहभागिता रहेको थियो ।