मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

‘नयाँ दल आएपछि मात्र देश सुध्रिन्छ भन्ने भ्रम फैलाइएको छ’ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो समय चलाइएको नयाँ दल बनाम पुराना दलको बहसलाई जनतालाई मूल समस्याबाट टाढा लैजाने भ्रामक प्रचार भएको बताउनु भएको छ ।

२०८२ माघ १० गते आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पुराना दल असफल भएकाले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी सोच नभई जनचेतनालाई भ्रमित गर्ने भुलभुलैयामात्र भएको टिप्पणी गर्नु भयो ।

विप्लवका अनुसार समस्या दलको नाम, उमेर वा अनुहारमा नभई राज्यसत्ताको चरित्रमा रहेको छ । “जनताले खोजेको दल होइन, न्यायपूर्ण र जनपक्षीय सत्ता हो  ।” भन्दै उहाँले जनताको चाहना आफ्नो पक्षमा निर्णय गर्ने, सेवा दिने र न्याय सुनिश्चित गर्ने सत्ता भएको स्पष्ट पार्नु भयो ।

उहाँले सत्ताको मूल प्रश्न ओझेलमा पार्न नयाँ र पुराना दलको बहसलाई बाहिरबाट फैलाइएको हल्ला भएको दावी गर्नु भयो ।

नयाँ दलप्रति देखिएको जनआशा पुराना दलको कमजोरी र असफलताबाट जन्मिएको भए पनि पुरानै राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

“पुराना दलबाट भ्रष्टाचार, विकृति र लुटपाट भयो भन्ने कुरा केही हदसम्म सही हो ।”-उहाँले भन्नु भयो-“तर नयाँ दल आएपछि स्वतः सबै ठीक हुन्छ भन्ने सोच सत्य होइन, यदि सत्ता संरचना उस्तै रह्यो भने ।”

महासचिव चन्दले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक समाधान नदिने तर्क प्रस्तुत गर्नु भयो । उमेरकै आधारमा नेतृत्व सफल वा असफल हुने धारणा गलत रहेको उहाँको भनाइ छ ।

“२५, ३० वा ४० वर्षको नयाँ अनुहार आएपछि सबै ठीक हुन्छ र पुरानो मान्छेले केही गर्न सक्दैन भन्ने सोच सत्य होइन ।”-उहाँले जोड दिनु भयो-“समस्या व्यक्तिमा भन्दा प्रणाली र सत्ताको चरित्रमा छ ।”

उहाँको अभिव्यक्तिलाई पछिल्लो समय बढ्दो राजनीतिक असन्तुष्टि र वैकल्पिक शक्तिको बहसप्रति लक्षित सन्देशका रूपमा हेरिएको छ ।

Author

Related News