वीरेन्द्रनगर । सुर्खेत जिल्लामा पछिल्लो समय घरेलु हिंसा र पारिवारिक कलहका कारण महिलामाथि भइरहेका जघन्य हत्या घटना बढ्दै गएका छन्।
पछिल्लो तीन घटनामध्ये सबैभन्दा ताजा घटना २०८२ साउन ११ गते आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला टोलमा भएको हो।
वीरेन्द्रनगर–१३ की ४१ वर्षीया रविना थापालाई खाटको खुट्टाले प्रहार गरी अवकाशप्राप्त सैनिक ४२ वर्षीय दानसिंह ठाडामगरले हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रविना श्रीमानसँगै मोबाइल हेर्दै सुतिरहेकी बेलामा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या गरेलगत्तै ठाडामगरले दुबईमा रहेका छोरा, जापानमा रहेकी छोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका वडाध्यक्ष दीपेन्द्रराज कोइरालाले जानकारी दिनु भयो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजङ्ग बुढथापाले बताउनु भयो ।
यसअघि ०८२ वैशाख २१ गते गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओलीको हत्या गरेको आरोपमा २८ वर्षीय पति दर्शन खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।
आरोपित खत्री पनि नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ । मृतक ओलीको पाँच वर्षीया एक छोरी छिन् ।
मृतकका माइती पक्षले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी मोहनजङ्ग बुढथापाले जानकारी दिनुभएको थियो ।
त्यसअघि २०७९ मङ्सिर २० गते पञ्चपुरी नगरपालिका–३ तोक्मामा ३० वर्षीया मीना आलेलाई हँसिया प्रहार गरी ३८ वर्षीय पति अम्मरबहादुर आले मगरले हत्या गरेको आरोपमा प्रहरीले पक्रेको थियो ।
हत्या गरेपछि आले मगरले श्रीमतीको टाउको प्लास्टिकको झोलामा राखेर प्रहरी कार्यालय जान खोज्दा पञ्चपुरी नगरपालिका–२ पलैंटेमा स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सुर्खेतमा छोटो अवधिमा तीन महिलाको हत्या हुनु केवल व्यक्तिगत पारिवारिक विवाद वा मानसिक असन्तुलनको मुद्दा मात्र होइन, यो महिला अधिकार र बाँच्न पाउने मौलिक हकको गम्भीर उल्लङ्घन हो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर, यस्ता हिंस्रक घटनाले देखाउँछन् कि घरभित्रै महिलाहरू अझै पनि सुरक्षित छैनन्।
घरेलु हिंसा, मानसिक दबाब र पारिवारिक असमानताले गर्दा महिलाको जीवन निरन्तर जोखिममा परेको छ।
सुर्खेतका यी घटनाले महिलाको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षामाथि भएको चुनौती स्पष्ट पार्छ। हिंस्रक मानसिकता र कमजोर सामाजिक संरचना मिलेर यस्ता अपराधलाई प्रश्रय दिइरहेका छन्।
महिला अधिकारकर्मीहरूका अनुसार, श्रीमतीको हत्या जस्तो अपराध केवल व्यक्तिगत रिसइवी वा विवादको परिणाम मात्रै होइन, यो महिलामाथि हुने गहिरो लैङ्गिक हिंसाको अभिव्यक्ति हो। यस्तो अपराधले महिलाको स्वतन्त्र अस्तित्व र मानवताको नै अपमान गर्छ।
यस्ता घटनाबाट बच्नका लागि कानुनी कडाइ, मानसिक स्वास्थ्य सहायता, समुदायस्तरको सचेतना र महिला हिंसा विरुद्धको शून्य सहनशीलता नीति तत्काल कडाइका साथ लागू गर्न आवश्यक देखिन्छ। (समाचारमा प्रयोग भएको तस्वीर साङ्केतिक हो)