पोखरा । “सुशासन, विकास र समृद्धिको लागि नागरिक सञ्जाल” भन्ने नाराका साथ स्थापित सामाजिक संस्था जागरूक नागरिक समाज, कास्कीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन २०८२ पुस २७ गते पोखरा–२६ स्थित सक्नेरी बहुउद्देश्यीय सामाजिक भवनमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालय प्रमुख नितु गर्तौलाले मानवअधिकारको सुनिश्चितता बिना नागरिकको जीवनस्तर उकासिन नसक्ने बताउँदै सरोकारवाला सबै पक्षबिच साझा धारणा आवश्यक रहेकोमा जोड दिनु भयो ।
उहाँले अधिकारका विषयमा बोल्नुका साथै अब कर्तव्यबोधमा समेत जोड दिनुपर्ने उल्लेख गर्दै संस्थाले आगामी दिनमा पछाडि पारिएका समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य पहुँच र सचेतना अभिवृद्धिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले स्थापना कालदेखि नै संस्थाले उद्देश्यअनुसार सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएकोमा प्रशंसा गर्नु भयो ।
साधारण सभामा सचिव सावित्री भट्टराईले गत वर्षको वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजनाहरू प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष डिल्लीरमण भण्डारीले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
साथै आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित आय–व्ययमाथि छलफल भई दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।
सभाले आगामी तीन वर्षका लागि रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सावित्री भट्टराई, सचिवमा भिमप्रसाद सुवेदी (सन्तोष), कोषाध्यक्षमा डिल्लीरमण भण्डारी र सह–सचिवमा माधवप्रसाद पौडेल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा पारस बास्तोला, सिता वस्ताकोटी, रामेश्वर अधिकारी, बालकृष्ण गौतम, बन्दना शाही ठकुरी, महेन्द्र सुवेदी, ध्रुव पौडेल, भैरवलाल श्रेष्ठ, पार्वती तिवारी न्यौपाने र शिवकुमारी न्यौपाने रहनुभएको छ ।
कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष रामहरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जगन्नाथ तिमल्सिनाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सावित्री भट्टराईले गर्नुभएको थियो ।