मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मरिण गाउँपालिकामा पुस ९ गतेदेखि २१ गतेसम्म पाँचौँ महोत्सव

रूद्रबहादुर खड्का, सिन्धुली

मरिण गाउँपालिकामा कृषि, पर्यटन, सांस्कृतिक, सूचना–प्रविधि तथा व्यापार मेलासहितको पाँचौँ मरिण महोत्सव–२०८२ पुस ९ गतेदेखि पुस २१ गतेसम्म मरिण गाउँपालिका–४ साहानस्थित खेलमैदानमा आयोजना गरिएको छ ।

महोत्सवले मरिण गाउँपालिकालाई कृषि तथा पर्यटन प्रवर्धनमार्फत पर्यटक आकर्षण गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनु भयो ।

उहाँका अनुसार कृषकहरूले स्थानीय रूपमा उत्पादन गरेका अन्नबाली, फलफूल तथा तरकारीको विक्रि–वितरणलाई प्रोत्साहन गर्न महोत्सव उपयोगी हुने छ ।

उद्योग वाणिज्य सङ्घ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको समन्वयमा तयारी तीव्र रूपमा अघि बढिरहेको सङ्घका अध्यक्ष चिनध्वज बम्जनले बताउनु भयो ।

उहाँका अनुसार स्थानीय पहिचान, परम्परा, उत्पादन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर यस वर्ष विविध प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।

महोत्सवमा कृषिजन्य, हस्तकला, स्थानीय मौलिक उत्पादन तथा विभिन्न सेवामूलक क्षेत्रका स्टलहरू रहनेछन् ।

बाँस, काठ, दुग्धजन्य वस्तु, ढाका तथा अल्लोका कपडासहित सिन्धुलीका मौलिक उत्पादनहरूको प्रतियोगितात्मक प्रदर्शनी प्रमुख आकर्षण हुने छ ।

साथै सूचना–प्रविधि, अटोमोबाइल्स, वित्तीय संस्था तथा अन्य सेवा प्रदायकहरूले आफ्ना सेवा तथा सुविधा प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष बम्जनले बताउनु भयो ।

पर्यटन प्रवर्द्धनका उद्देश्यले मधुवनी डाँडाबाट प्याराग्लाइडिङ उडान, मरिणमा प्रख्यात माछा तथा तामाका सामग्रीको प्रदर्शन, पञ्चकन्या पोखरी अवलोकन, मिश्रित सांस्कृतिक झाँकी, अन्तर–विद्यालय नृत्य प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरूको सांगितिक प्रस्तुति र दोहोरी कार्यक्रम महोत्सवका विशेष आकर्षण हुने जनाइएको छ ।

यसबाहेक बाल उद्यान, सर्कस, झूला, पिङ, मौतकुवा जस्ता मनोरञ्जनात्मक गतिविधिहरू महोत्सव अवधिभर सञ्चालन हुनेछन् ।

अध्यक्ष बम्जनले स्थानीय उत्पादन प्रवर्द्धन, पर्यटन सम्भावना विस्तार तथा सामुदायिक एकता सुदृढ गर्न महोत्सव महत्वपूर्ण हुने उल्लेख गर्दै सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गर्नुभएको छ ।

Author

Related News