धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गर्नु भएको छ ।
सामाजिक विकास मन्त्रालयले २०८२ असार १२ गते धनगढीमा आयोजना गरेको साक्षर सुदूरपश्चिम प्रदेश घोषणासभा समारोहमा मुख्यमन्त्री शाहले यस्तो घोषणा गर्नु भएको हो ।
घोषणासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्नका लागि प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा सबै ८८ ओटै स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो ।
प्रतिवेदनमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्याङ्क रहेको छ ।
यसअघि सुदूरपश्चिमका सबै नौ ओटै जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।
सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ । यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर प्रदेश घोषित भइसकेका छन्।