मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ईको भिलेजको सपना: बलराम पौडेलको अधुरो क्रान्ति !

पोखरा । “राजा वा नेता नभए पनि देश चल्न सक्छ, बजार नभए पनि व्यापार चल्न सक्छ, तर कृषि र किसानबिनाको संसार चल्न सक्दैन,”-५८ वर्षीय बलराम पौडेलको जीवनदर्शन हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३, मराम्चे निवासी पौडेलको लक्ष्य स्पष्ट छ-‘ईको भिलेज’ बनाउने, बेरोजगार युवालाई गाउँमै रोजगारी दिने र बाँझो जमीनलाई उत्पादनको केन्द्र बनाउने। तर, उहाँको यो सपना अझै अधुरो छ। पौडेलको जीवनकथा सङ्घर्षको पर्याय हो।

२०२४ सालमा बुवा महेश्वर र आमा भूमादेवीको कोखबाट जन्मनु भएका उहाँ चार भाइमध्ये जेठो हुनुहुन्छ ।

उहाँले २०४८ सालमा काँडेमा चामल र खाद्यान्न व्यवसाय थाल्नु भयो। तर, २०५२ सालमा सुरू भएको सशस्त्र द्वन्द्वको असरले व्यापार छाड्नुपरेको उहाँ बताउनु हुन्छ ।

वैदेशिक रोजगारीको मोहले २०५८ सालमा दिल्ली पुग्नु भयो । तर, पहाडगञ्जमा एक वर्षको बसाइमा उहाँले १२ लाख रुपियाँ घाटा बेहोर्नुपर्‍यो।

“विदेशमा गरेको खर्च तितो सम्झना हो, तर त्यो अनुभवले मलाई आफ्नै माटोमा केही गर्न प्रेरित गर्‍यो ।”-पौडेल सम्झनु हुन्छ ।

२०६२ सालमा हेफर इन्टरनेशनलसँगको भेटपछि उहाँले कृषि क्षेत्रमा व्यावसायिकता भित्र्याउने यात्रा सुरु गर्नु भयो ।

पौडेलले बाख्रापालन परियोजनामा अनुभव हासिल गरी प्रगतिशील कृषि उत्पादक सहकारी संस्था स्थापना गर्नु भयो र सचिवको रूपमा निरन्तर सक्रिय हुनु भयो ।

लुम्ले अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सुरु गरिएको “एक घर एक गाई” अभियानमार्फत मराम्चेमा गाईपालनलाई प्रोत्साहन गरियो।

तर, बाधा र नोक्सानीले उहाँको बाटो असजिलो भयो । लम्पी स्किन रोगको प्रकोपले १८ ओटा गाईमध्ये १२ ओटा मरे, जसबाट करिब १८ लाख रुपैयि बराबरको घाटा भयो।

“गाउँमा केही गर्न खोज्दा सहयोगभन्दा असहयोग नै धेरै पाइन्छ ।”-पौडेल भन्नुहुन्छ । हाल मराम्चे अर्गानिक कृषि फर्ममार्फत गाई, भैंसी, बाख्रा, आलु, च्याउ, खुर्सानी, प्याज, गाजर, काक्रो, सिमी लगायतका जैविक उत्पादन भइरहेको उहाँले बताउनु भयो । पौडेलको योजना दुध प्रशोधन गरेर दही, पनीर, घ्यू, आइस्क्रिम उत्पादन गर्ने रहेको छ।

उहाँका लक्ष्य स्पष्ट छन्-वार्षिक १०–१२ टन जैविक मल बिक्री, दैनिक १००-१५० लिटर दुध र १००-२०० किलो तरकारी उत्पादन, १ सय रोपनीभन्दा बढी जमीन भाडामा लिएर घाँस र तरकारी खेती गर्ने तथा  १०-१२ जनालाई स्थायी रोजगारी दिने रहेको छ । तर, यि सबै काम गर्नका लागि न त राज्यको सहयोग राम्रो छ न त वातावरण नै ।

“नेपाल कृषि प्रधान देश हो भन्ने कुरा सबैलाई थाहा छ, तर किसानको श्रमको मूल्य राज्यले बुझ्दैन ।”-उहाँ भन्नु हुन्छ ।

राज्य संरचनाले उहाँको कुरा बुझ्न आनाकानी र बहानाबाजी गरिरहेको भएपनि परिवारबाट राम्रट् साथ पाइरहनु भएको छ ।

उहाँलाई अभियान र सङ्घर्षमा श्रीमती हरिमाया पौडेल र छोरा कविराजले साथ दिँदै आएका छन् । हौसला थपिरहेका छन् । भरोसा दिइरहेका छन् ।

हाइब्रिड बिउका कारण रैथाने बिउ हराउँदै गइरहेको र रासायनिक मलको अनियन्त्रित प्रयोगले माटो र वातावरण बिग्रँदै गइरहेको उहाँको ठहर छ।

“रासायनिक मलमा अनुदान दिइरहने सरकारले जैविक मल र विषादी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गरे १०-१५ वर्षमै देश आत्मनिर्भर बन्न सक्नेमा पौडेलको विश्वास छ।

हालसम्म उहाँले स्थानीय सरकारबाट ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर र २ सय मिटर पाइपबाहेक सहयोग पाउनु भएको छैन ।

“सबैले आश्वासन मात्र दिन्छन्, तर व्यवहारिक सहयोग कोही गर्दैन ।”-उहाँको गुनासो छ। अहिले फर्म सानो डेरी उद्योग, मिनि पिकअप भ्यान र थप ८–१० ओटा गाईको आवश्यकता महसुस गरिरहेको पौडेलले सुनाउनु भयो ।

पौडेलको कथा केवल व्यक्तिगत सङ्घर्ष मात्र होइन, यो हजारौं किसानको साझा पीडा र सम्भावनाको प्रतिबिम्ब हो।

उहाँ भन्नुहुन्छ- “कृषि केवल पेशा होइन, यो आत्मनिर्भरता र राष्ट्रनिर्माणको मेरुदण्ड हो।” ईको भिलेजको सपना आज अधुरो भए पनि बलराम पौडेलका आँखा अझै तजिला छन् । उहाँले सुदूर भविषयलाई यिनै जोडी आँखाले हेरिरहनु भएको छ ।

उहाँको सुदूर दृष्टि छ-भविष्यको कल्पनासँग, जहाँ गाउँहरू उत्पादन र समृद्धिको केन्द्र बन्नेछन्, नकि युवापलायनको प्रतीक।

सुन्दर कल्पनालाई सार्थक बनाउन अघि बढिरहँदा दैवले बाटो छेकिरहेको भएपनि देश विदेशका सहयोगी हात पाएमा अझै केही गर्ने जोश रहिरहेको पौडेलको भनाइ छ । यो कृषि क्रान्तिलाई पूर्णता दिनका लागि उहाँमा आफूसँगै आफूजस्तैको साथ पाउने विश्वास रहेको छ ।

Author

Related News