मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

पाताले छाँगोको विवाद कायमै !

पोखरा । पोखरा महानगरपालिका-१७ स्थित  छोरेपाटनमा रहेको पाताले छाँगो (डेभिड फल्स) ४० वर्षका लागि निजी कम्पनी सेती क्यानोनिङ प्रालिलाई ठेक्कामा दिने विषय सहमति देखि नै शुरूवात भएको  विवादले झन्झन् विवादित हुँदै आएको छ ।

पोखरा महानगरपालिकाले सीसाको पुल लगायत संरचना निर्माणका लागि सम्झौता गरेपछि यसलाई लिएर स्थानीय, विद्यार्थी सङ्गठन र महानगरबिच विवाद चर्कँदै आएको हो ।

सेती क्यानोनिङ प्रालिले २०८२ भदौ १९ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न विद्यार्थी सङ्गठनका नेता तथा स्थानीयबासीले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको थियो ।

कार्यक्रममा नेविसङ्घ नेता निर्दोष विक्रम पौडेलमाथि खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

घाइते पौडेललाईलाई उपचारका लागि अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सार्वजनिक सुनुवाइ सुरू हुनासाथ नाराबाजी गर्दै विद्यार्थी सङ्गठनका नेताहरूले योजना कुनै पनि हालतमा अगाडि बढ्न नदिने चेतावनी दिएका थिए ।

विवाद बढ्दै गएपछि पोखरा महानगरका मेयर धनराज आचार्य कार्यक्रमस्थल बाहिर निस्कनु भएको जनाइएको छ ।

निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यकालको अन्तिम बैठकले पाताले छाँगो, मोरेखहरे घाट, सेती खोंचलगायत सम्पदालाई ३५-४० वर्षका लागि सार्वजनिक–निजी साझेदारी अन्तर्गत सेती क्यानोनिङ प्रालिलाई दिने निर्णय गरेको थियो ।

यो निर्णयलाई मेयर आचार्य नेतृत्वको १७ औँ कार्यपालिका बैठकले गत वैशाख ३ गते सदर गरेको थियो  ।

सम्झौता अनुसार २०७८ साउन १४ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश बराल र कम्पनी अध्यक्ष कर्केन गुरुङबिच सम्झौता भएको थियो ।

पाताले छाँगोको आम्दानी स्थानीय छोरेपाटन माध्यमिक विद्यालयले सङ्कलन गर्दै आएकोमा महानगरले गएको वर्षदेखि आफैँ उठाउन थालेको छ ।

Author

Related News