मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

एशोसिएसनले बुझायो ज्ञापनपत्र, जलेका सवारीसाधन मर्मत गरी चलाउन सकिने प्रस्ताव

पोखरा । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, पोखराले हालैको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेका सवारीसाधनहरू मर्मतसम्भार गरी नयाँजस्तै बनाउने प्रस्तावसहित ज्ञापनपत्र बुझाएको छ ।

एशोसिएसनले २०८२ असोज २२ गते कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका क्रममा नष्ट भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन मर्मत गर्ने जिम्मा लिने इच्छा व्यक्त गरेको हो ।

ज्ञापन बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले सवारीसाधनको क्षतिको यकिन भएपछि मर्मतका विषयमा एशोसिएसनसँग छलफल गर्न सकिने बताउनु भएको छ ।

“पहिले क्षतिको विवरण यकिन हुनुपर्छ, त्यसपछि मात्रै छलफल गरेर अघि बढ्न सकिन्छ ।”-उहाँले भन्नु भयो ।

राज्यको ७० प्रतिशत सम्पत्ति बचाउने दाबी

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले आन्दोलनका क्रममा पोखरा क्षेत्रमा भएको तोडफोड र आगजनीमा जलेका सवारीसाधनहरू सहुलियत दरमा मर्मत गरी नयाँजस्तै बनाउने प्रस्ताव राख्नुभएको छ ।

उहाँले उदाहरण दिँदै भन्नु भयो-“मानौं १ करोड पर्ने गाडी मर्मत गर्दा ३० लाख खर्च हुन्छ भने राज्यको ७० लाख जोगिन्छ ।”

उहाँका अनुसार गाडी जले पनि अधिकांश अवस्थामा फलाम र अन्य संरचना पूर्ण रुपमा नष्ट नहुने भएकाले तिनलाई मर्मत गरी प्रयोगमा ल्याउन सकिन्छ ।

नयाँ सवारी किन्नु भन्दा मर्मत गरेर चलाउँदा ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिनबाट जोगिने भन्दै उहाँले प्रशासनमार्फत सहयोगको आग्रह गर्नु भयो।

सस्तो र सक्षम मर्मत सम्भव

महासचिव विजेन्द्र चौधरीले पनि जलेका गाडीहरूलाई पुरानै स्वरुपमा नयाँजस्तै बनाउन सकिने बताउनु भयो।

“यसले अटोमेकानिकल क्षेत्रमा रोजगारी सिर्जना गर्छ । साथै राज्यको सम्पत्ति पनि जोगिन्छ ।”- उहाँले भन्नु भयो ।

निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्रले पनि सवारी मर्मतको जिम्मा पाए सहुलियत दरमा सेवा दिन सकिने प्रतिबद्धता जनाउनु भयो ।

३ सय सवारीसाधन४८ ओटा भवनमा क्षति

सरकारी तथ्याङ्क अनुसार गण्डकी प्रदेशमै आन्दोलनका क्रममा ४८ ओटा सरकारी भवन र ३ सयभन्दा बढी सवारीसाधनमा क्षति पुगेको छ ।

प्रदेशसभाका मात्र ६ ओटा चारपाङ्ग्रे र १२ ओटा दुईपाङ्ग्रे सवारीसाधन जलेको जनाइएको छ।

देशव्यापी अभियान बनाउने तयारी

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन ३ सय २१ ओटा वर्कसप तथा ग्यारेज सदस्य फर्महरूसँग आबद्ध रहेका छन् ।

संस्थाले आफ्ना सदस्यहरूलाई नयाँ प्रविधिमा आधारित तालिम पनि दिँदै आएको छ । प्रेस सल्लाहकार कृष्णबहादुर थापाका अनुसार पोखराबाट सुरु भएको यो मर्मत अभियानलाई देशव्यापी बनाउने योजना छ ।

यसै सन्दर्भमा सङ्घीय सरकारको गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी पनि भइरहेको थापाले बताउनु भयो ।

Author

Related News