मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हरिहरपुरगढीमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रुद्रबहादुर खड्का, सिन्धुली ।

हरिहरपुरगढी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता २०८२ माघ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

हरिहरपुरगढी गाउँपालिका अन्तर्गत युवा तथा खेलकुद विकास समितिको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा झनझनेमा प्रतियोगिता आयोजना गरिएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वज्रध्वज वाईबाले विद्यालय शिक्षासँगै कला, साहित्य, संगीत, नृत्य र खेलकुदजस्ता सिर्जनात्मक क्षेत्रमार्फत विद्यार्थीमा रहेको प्रतिभा पहिचान र विकास गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो ।

अध्यक्ष वाईबाले आधारभूत तहदेखि माध्यमिक तहसम्म विद्यालयस्तरीय खेलकुद विकासका लागि गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो ।

उहाँका अनुसार आगामी आर्थिक वर्ष ०८३/८४ को वार्षिक बजेटमा विषयगत खेलकुद कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको धारणा थियो ।

कार्यक्रममा गाउँपालिकाभित्र कमजोर शैक्षिक अवस्था भएका विद्यालयहरूको सुधारका लागि आवश्यक आर्थिक, भौतिक तथा शैक्षिक सामग्री व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिइएको छ ।

युवा तथा खेलकुद विकास समितिका संयोजक लक्ष्मीबहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताअन्तर्गत भलिबल, लङजम्प, हाईजम्प र सर्टफुटजस्ता खेलमा प्रतिस्पर्धा सुरु भइसकेको छ ।

विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

Author

Related News