पोखरा । स्थापनाको ४६औं वार्षिकोत्सवको अवसरमा सृजना विकास केन्द्र, पोखरा को ४८औं साधारण सभा तथा २४औं अधिवेशन २०८२ असोज २५ गते पोखरामा सम्पन्न भएको छ । संस्था २०३७ साल असोज २५ गते सामाजिक रूपान्तरणको उद्देश्यसहित स्थापना गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोग, पोखराकी प्रमुख नितु गर्तौलाले सामाजिक न्याय र मानवअधिकार सुनिश्चित नभएसम्म समाज र नागरिकको जीवनस्तर सुधार हुन नसक्ने बताउनु भयो ।
उहाँले संस्थाले आफ्नो उद्देश्यअनुसार सामाजिक उत्तरदायित्वका साथ काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि युवापुस्तालाई स्वयम्सेवी भावनाले सामाजिक न्यायका क्षेत्रमा सक्रिय हुन प्रोत्साहन गर्न आग्रह गर्नु भयो ।
गर्तौलाले हाल देशमा देखिएको विषम परिस्थिति समाधानका लागि सामाजिक सङ्घसंस्थाले नागरिकका हक अधिकारका क्षेत्रमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।
सृजना विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद बरालले ४६ वर्षको यात्रामा संस्थाले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताउनु भयो ।
उहाँका अनुसार संस्थाले गरिबी र पछौटेपन अन्त्यलाई आफ्नो मूल ध्येय बनाउँदै बहिरा विद्यालय स्थापना, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालन, महिला लघुऋण परियोजना, द्वन्द्वपीडित बालगृह, खानेपानी योजना, सहकारी सञ्चालन लगायतका कार्यक्रम सफलतापूर्वक अघि बढाउँदै आएको छ ।
बरालले सृजना लघुवित्त कार्यक्रमलाई समयानुकूल रुपान्तरण गरी जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रूपमा स्थापित गर्नु संस्थाको प्रमुख उपलब्धि रहेको बताउनु भयो ।
साधारण सभामा महासचिव चन्द्र गिरीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नु भयो ।
दुवै प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित भएको सचिव बालकृष्ण बरालले जानकारी दिनु भयो ।

संस्थाका प्रमुख कार्यहरू
- सृजना बहिरा विद्यालय (२०४४)-दक्षिण एसियाकै पहिलो आवासीय बहिरा उच्च माध्यमिक विद्यालयको रूपमा सञ्चालनमा ।
- जनप्रिय बहुमुखी क्याम्पस (२०४८)-स्थानीय अभिभावक र समुदायको सक्रियतामा स्थापना ।
- सृजना बालगृह -द्वन्द्वपीडित बालबालिकाका लागि आवासीय तथा शैक्षिक सुविधा ।
- सृजना खानेपानी परियोजना -१०५ घरधुरी तथा संस्थाहरू लाभान्वित ।
- महिला लघुऋण परियोजना र सहकारी -आर्थिक सशक्तीकरणका लागि ।
- सृजना लघुवित्त बैंकिङ कार्यक्रम -गरिबी निवारणका उद्देश्यले चार जिल्लामा सञ्चालन ।
- सृजना चोक नामकरण र गणेशमान पार्क संरक्षण ।
- सेती पुल पुनर्निर्माण, साक्षरता कक्षा, रनिङ सिल्ड प्रतियोगिता, मन्दिर संरक्षण, कम्प्युटर र सीपमूलक तालिमहरू लगायतका कार्यहरू ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बराल, इन्सेक पोखराका प्रदेश संयोजक गणेश भण्डारी, सल्लाहकार डम्बरबहादुर केसी, पूर्वअध्यक्षद्वय राजु पौडेल र लिलाधर बराललगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
साधारणसभाले आगामी दुई वर्षका लागि चन्द्र गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा बालकृष्ण बराल, महासचिवमा सावित्री बराल, सचिवमा उर्मिला भट्टराई, कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्यहरूमा किसन गिरी, भिमप्रसाद पौडेल, शारदा कुवर, राधिका थापा तथा नवराज विजुक्छे निर्वाचित हुनु भएको निर्वाचन अधिकृत राजकुमार गिरीले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष बिष्णुप्रसाद बरालले, स्वागत र उद्देश्य प्रकाश प्रथम उपाध्यक्ष शान्ति शर्माले तथा सञ्चालन महासचिव चन्द्र गिरीले गर्नु भएको थियो ।