मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नौलो घुम्ती नेपालको २४ औँ साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न

पोखरा । नौलो घुम्ती नेपाल, पोखराको  २४ औँ वार्षिक  साधारण सभा तथा सामाजिक परीक्षण (लेखाजोखा) कार्यक्रम २०८२ असोज ८ गते पोखरा सम्पन्न भएको छ ।

नौलो घुम्ती नेपालका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले संस्थाले आत्मसात गरेको  आर्थिक तथा सामाजिक रूपमा पछाडि पर्न बाध्य विपन्न सङ्कटाभिमुख र सिमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि जीविकोपार्जनको विकास, आधारभूत स्वास्थ्य, मानव अधिकार र लोकतन्त्र प्रवर्धन, लैङ्गिक समानता, समावेशीकरण साथै लागुपदार्थ तथा एचआईभी एड्सको रोकथाम नियन्त्रण एवम् उपचार लगायतका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनु भयो ।

संस्थापक अध्यक्ष श्रेष्ठले आम नागरिकले आफ्ना हक अधिकार प्राप्त गर्ने क्रममा आफ्नो कर्तव्यलाई पनि सही ढङ्गले प्रयोग गर्न आग्रह गर्नु भयो । 

वरिष्ठ अधिवक्ता एवम् नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापामगरले सन् २००२  देखि संस्थाले राष्ट्रिय स्तरमा विविध कार्यक्रमहरू गरेको बताउनु भयो ।

उहाँले लागुपदार्थ प्रयोगकर्ताहरू, एचआईभी सङ्क्रमित एवम् प्रभावित, एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समुदायमा एचआईभी रोकथाम तथा नियन्त्रण, शिक्षा, एकीकृत सामुदायिक विकास कार्यक्रम, झोलुङ्गेपुल निर्माण, आयआर्जन लगायतका कार्यक्रमहरुमार्फत संस्थाले आफ्नो पहिचान बनाउन सफल भएको बताउनु भयो ।

अध्यक्ष थापामगरका अनुसार संस्थाले स्थापनाकालदेखि नै पुनर्स्थापनाको कार्य गरेको यस संस्थाले २३ वर्षको अवधिमा युएनडिपि, युएनओडिसि, सेभ द चिल्ड्रेन, युरोपियन युनियन, इको कार्किनेक्सी, डब्लुडब्लुएफ, यूएन ह्याविटेट र भिएसओलगायतका दातृ निकायहरूको सहयोगमा २३ जिल्लामा काम गरेको छ ।

समाजका विपन्न र पछाडि पारिएका महिला, बालबालिका, युवा समुदायमा काम गर्दै आएको बताउँदै (कास्की, तनहुँ, लमजुङ, गोर्खा, पर्वत, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, चितवन, सर्लाही, झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कैलाली, नवलपरासी, बर्दिया, महोत्तरी र मनाङ) मा विभिन्न कार्यक्रम गरिसकेको पनि अध्यक्ष थापामगरले बताउनु भयो ।

यसै अवसरमा संस्थाद्वारा आर्थिक वर्ष २०८१/०८२ मा गरेका कार्य एवम् गतिविधिको सामाजिक परीक्षण गरिएको छ ।

सामाजिक परीक्षण विज्ञ एवम् एभरेष्ट मिडियाका प्रबन्ध निर्देशक दिपेन्द्र श्रेष्ठले  संस्थाले यो अवधिमा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र सिकाइका बारेमा विस्तृत प्रस्तुति गर्नु भएको थियो ।

सामाजिक परीक्षण विज्ञ श्रेष्ठले संस्थाले कास्की जिल्लाक‍ो पोखरा महानगर क्षेत्र भित्रका र छिमेकी जिल्लाका यस आर्थिक वर्षमा भएका प्रमुख उपलब्धीहरू लागुपदार्थ परामर्श, उपचार तथा पुनर्स्थापना केन्द्रमा गत वर्ष सम्म २ हजार ९ सय १४ जना पुरुष र ७ सय ९८ महिला सहित ३ हजार ७ सय १२ जनाले आवासीय सेवा प्राप्त गरिसकेका छन् भने यस आर्थिक वर्षमा महिला तर्फ ७३ जना र पुरुष तर्फ १ सय ३६ जना गरी जम्मा २ सय ९ जना जनाले आवासीय सेवा प्राप्त उल्लेख गर्नु भयो ।

नौलो घुम्ती नेपाल शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत १ हजार ९० जना विद्यार्थी, ४२ विद्यालय, ६ सहकारी संस्था, २ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, ६ स्वास्थ्य चौकी, ३ आधारभुत स्वास्थ्य सेवा केन्द्र र ३ सामुदायिक स्वास्थ्य इकाईमा सेवा उपलब्ध गराइएको बताउनु भयो ।

आईसिटी ईन शिक्षामार्फत विद्यालयहरूको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि यस वर्ष ८ विद्यालहरूमा स्मार्ट बोर्ड जडान भई नियमित शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन हुँदै आइरहेको छ ।

यसवर्ष मादी गाउँपालिकाको वडा ८, ९, १० र ११ गरी चार ओटै वडाहरूमा बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम वडास्तरीय बाल अधिकार समितिको पुनर्गठन भएको छ ।

सरसफाई कार्यक्रम अन्र्तगत स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा चार ओटा हात धुने स्टेसन र ४ वटा फोहोरमैला जलाउने वेस्ट पिट निर्माण सम्पन्न गरियो ।

कास्कीका ४२ सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८ सय ८३ बालवालिकाहरूलाई एक शैक्षिक सत्रका लागि आवश्यक पर्ने शैक्षिक सामग्री, विद्यालय पोशाक समेत प्रदान गरिदै आएको छ ।

यस वर्ष एसईईमा उत्तीर्ण गर्ने २ सय ७ विद्यार्थीलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

जिविकोपार्जन कार्यक्रम अन्तर्गत ५० अगुवा कृषकहरूलाई प्राकृतिक खेती तालिममा आवद्ध गर्दै ३ सय जना कृषकलाई प्राकृक्तिक खेतीका लागि आवश्यक बिउ बीज तथा कृषि सामग्री सहयोग भएको छ ।

परियोजनाद्वारा ६ वटा सहकारीमा हालसम्म १ करोड ३८ लाख २१ हजार नौ सय ३७ रुपैया घुम्तीकोष रकम प्रदान गरिएको छ जसबाट ४ सय ९५ घरपरिवारहरू व्यवसायिक उद्यममा आबद्ध भएका छन् ।

संस्थाले कास्की जिल्लाका विभिन्न ठाउँमा हालसम्म कास्की जिल्लामा ६६ र मनाङ्ग जिल्लामा सात ओटा गरी कुल ७३ ओटा झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भइसकेको मध्ये यस आर्थिक वर्षमा नौ ओटा झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको छ ।

कास्की र मनाङ्ग जिल्ला गरेर चार ओटा झोलुङ्गे पुलहरू निर्माणाधीन अवस्थामा रहेको छ ।

साथै अन्य झोलुङ्गे पुलहरूको सर्भे तथा डिजाईन तयार गर्ने काम भइरहेको छ । यस वर्ष ५ सय ६३ जना एचआईभीको जोखिममा रहेका व्यक्तिहरूलाई एचआईभीको परीक्षण र ५३ जना नयाँ सङ्क्रमितहरूलाई एआरटीको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा रेफर गरिएको छ ।

२ सय ९६ जनाको यौनरोग परीक्षण गरिएको छ भने १ सय जनाको यौन रोगको निदान र ४५ जनाको यौन रोगको उपचार सेवा प्रदान गरिएको छ ।

४ सय १४ जनालाई समुदायस्तरमा हेरचाह तथा काउन्सिलिङ्ग सेवा प्रदान गरिएको छ ।

साधारणसभामा महासचिव कमलप्रसाद अर्यालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला पौडेल रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

दुवै प्रतिवेदन उपर छलफल पश्चतात सर्वसम्मत पारित भएको प्रशासन तथा वित्त अधिकृत तुलबहादुर रानाभाटले मानव आवाजलाई जानकारी दिनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगी, नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष उर्मिला खड्का, नौलो घुम्ती नेपालका सल्लाहकार एवम् गोनेसाका निर्वतमान मेजर दिलबहादुर गुरूङ, पूर्व अध्यक्ष इन्दिरा बराल, कार्यकारी निर्देशक अनेश गुरूङ, संस्थाका आजिवन सदस्य टोपराज ढुङ्गाना, साहारा क्लब, पोखराका अध्यक्ष केशब बराल लगायतले अति विपन्न,सिमान्तकृत, संकटाभिमुख समुदाय, लागूपदार्थ परामर्श, उपचार तथा पुनःस्थापना र लागूपदार्थ प्रयोगकर्ताहरूका लागि उदाहरणीय र अभिभावकत्व ग्रहण  गरेको भनाई राख्नु भएको थियो ।

नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपाध्यक्ष मङ्गल नेपालीले स्वागत र महासचिव कमलप्रसाद अर्यालले सञ्चालन गर्नु भएको थियो ।

Author

Related News