पोखरा । अर्घाखाँची पोखरा सम्पर्क समाजले २०८२ असोज ६ गते आफ्नो २०औं स्थापना दिवस पोखरामा मनाएको छ ।
२०६३ सालमा स्थापित यस समाजले अर्घाखाँची जिल्लाबाट बसाइँसराई, व्यवसाय वा रोजगारीका सिलसिलामा पोखरा आएका व्यक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्य राख्दै निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका वरिष्ठ उपरीक्षक टोपबहादुर खनालले सिद्धार्थचोकस्थित सम्पर्क कार्यालयमा जन्मदिनको केक काटी उद्घाटन गर्नुभएको थियो ।
उहाँले पोखरामा अर्घाखाँची बासीहरू सक्रिय र सकारात्मक कार्यमा संलग्न रहनु गर्वको कुरा भएको बताउनु भयो ।
वरिष्ठ उपरीक्षक खनालले समाजको सामाजिक कार्यप्रति प्रशंसा गर्दै सुरक्षित रहनु सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्नु भयो ।
विशेषगरी चाडपर्वहरूमा अनावश्यक तडकभडक नगरी परिवारसँग खुसीसाथ मनाउन उहाँले आग्रह गर्नु भयो ।
साथै, घर छोडेर बाहिरिँदा वा दशैंमा गाउँ जानेबारे सामाजिक सञ्जालमा पोस्ट नगर्नु बुद्धिमानी हुने भन्दै सम्भावित दुर्घटना रोकथाममा सजग रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद पाण्डे, गुणानिधि पाण्डे, ज्ञानहरि आचार्य, चेतनारायण पाण्डे, निवर्तमान अध्यक्ष दधिराम खनाल, प्रेस सल्लाहकार रोहित बस्नेत, गोविन्द श्रेष्ठलगायतले समाजको २० वर्षे यात्राप्रति खुसी प्रकट गर्दा पनि अहिलेको विषम परिस्थिति विचार गरेर सबै सदस्यलाई एउटै सन्देश दिनुभएको थियो-“सुरक्षित रहौँ ।”
अध्यक्ष रामप्रसाद पौडेलले समाजले विगत वर्षहरूमा वृद्धाआश्रम सहयोग, जेहेन्दार विद्यार्थीलाई स्टेशनरी वितरण, न्यानो कपडा वितरण जस्ता सामाजिक कामलाई निरन्तरता दिएको जानकारी दिनु भयो ।
कार्यक्रम अध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कृष्ण रानाभाटले गर्नुभएको थियो ।
यातायात व्यवस्था कार्यालय गण्डकीमा क्याण्टिन सञ्चालन गरिरहनु भएका समाजका प्रथम उपाध्यक्ष इन्द्रबहादुर कुवँरलाई यही भदौ २४ गतेको आन्दोलनमा पीडित हुनु भएको हुँदा समाजले सहयोग गर्ने प्रतिबद्धता जनाइएको समाजका प्रेस सल्लाहकार रोहित बस्नेतले बताउनु भयो ।