मानव आवाज

२०८३ भदौ १५ गते
00: 00: 00
२०८३ भदौ १५ गते

स्वर्णिम भविष्य सहकारीको १८औँ साधारणसभा सम्पन्न

सिन्धुली स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुलीको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बलबहादुर श्रेष्ठ र प्रगति प्रतिवेदन सचिव नवराज श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमार्फत गत आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि तथा आगामी आर्थिक वर्षका लागि तय गरिएका कार्यक्रम र योजनाबारे जानकारी गराइएको थियो ।

संस्थाले गत आर्थिक वर्षमा सम्पूर्ण खर्च कटाएर ५८ लाख ५१ हजार ४२० रुपैयाँ प्रतिफल कमाउन सफल भएको जनाएको छ ।

आगामी आर्थिक वर्षमा उक्त प्रतिफल बढाएर १ करोड ७० लाख ३३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य संस्थाले लिएको छ ।

साधारण सभाका अवसरमा सात जना ज्येष्ठ सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै थर्मस प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थामा कार्यरत उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, उत्कृष्ट कारोबार गर्ने सदस्य तथा पूर्वसञ्चालकलाई समेत सम्मान गरिएको थियो ।

सहकारी क्षेत्रका गतिविधि, सूचना तथा संस्थाका कार्यक्रमलाई सञ्चारमाध्यममार्फत आमसमुदायसम्म पुर्‍याउन योगदान गरेको भन्दै संस्थाले सिन्धुलीकी महिला पत्रकार मेनुका बुढाथोकीलाई पनि सम्मान गरेको संस्थाका प्रबन्ध निर्देशक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाका स्वर्गीय पूर्वअध्यक्षको स्मृतिमा स्थापना गरिएको श्रीकेदारमान स्मृति प्रतिष्ठान अक्षयकोषबाट पञ्चकन्या माध्यमिक विद्यालय, कुडुलेका पाँच जना जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्रीसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले नगरभित्र रहेका सहकारी संस्थालाई बलियो, मर्यादित, पारदर्शी र व्यवस्थित बनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारी संस्थाले सदस्यको हितसँगै वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख देवकोटाले सहकारी संस्था बलियो बनाउन बचत वृद्धि र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै सबैको सहकार्यबाट सहकारी संस्थालाई अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

यसैबिच, संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपियाँ सहयोग गर्ने जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार