ललितपुर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको १७ औँ वार्षिक साधारणसभाले शुक्र थापाको नेतृत्वमा सञ्चालक समिति चयन गरेको छ ।
संस्थाका ज्येष्ठ शेयर सदस्य देवेन्द्रबहादुर प्रधानको प्रमुख आतिथ्यमा जावलाखेलमा सम्पन्न साधारणसभाले थापाको नेतृत्वमा चार वर्षका लागि नयाँ सञ्चालक समितिको चयन समेत गरेको छ ।
निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेका अनुसार अध्यक्षमा हरिसिद्दी माविका शिक्षक शुक्र थापा, उपाध्यक्षमा बज्रबाराही माविका शिक्षक गिरीप्रसाद तिमल्सिना, सचिवमा प्रभात माविका शिक्षक सुरेन्द्रकुमार घिमिरे, कोषाध्यक्षमा रुद्रायणी माविका शिक्षक रमेशकुमार रिजाल र सञ्चालकहरूमा प्रभात माविका शिक्षक देवीप्रसाद दुलाल, नारायणी माविका शिक्षक ईश्वर सञ्जेल, सिस्नेरी माविकी शिक्षिका मन्जु लामा, पाटन माविकी शिक्षिका कविता श्रेष्ठ र सरस्वती आविकी शिक्षिका सानुमाया लो निर्वाचित हुनु भएको छ ।
२०६५ मङ्सिर ५ गते स्थापना भएको शिक्षक हित साकोसमा १ हजार ९ सय ३८ जना सदस्य छन् भने सहकारीले करिब ७५ करोड रुपियाँ बराबरको कारोबार गरेको छ ।
साधारणसभाले अध्यक्ष शुक्र थापा, कोषाध्यक्ष रमेशकुमार रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक जनार्दन आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।