मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

गोनेसाद्वारा तीज मिलन कार्यक्रम आयोजना

पोखरा ।

२०५६ मा गोनेसाको उदय, २५ वर्ष भयो यसले गर्‍यो विजय ।

विपन्न बस्तीका बालबालिका जम्मा गरेर, सहयोग गरे बालबिकास केन्द्र खोलेर ।।

पोषण युक्त खाना हुन्छ सबै हाम्रा केन्द्रमा, घटाउनलाई कुपोषण सबै क्षेत्रमा ।

विपन्न बालबालिका भए स्वस्थ्य निरोगी, स्वास्थ्यको अधिकारमा पाए ओखती ।।

लगायतका गीतका भाकामा स्वास्थ, शिक्षामा केन्द्रीत भई सचेतनामुलक गीत प्रस्तुति गर्दै पोखरामा तीज मिलन कार्यक्रम सम्पन्न भयो ।

अनौपचारिक (सुकुम्बासी) बस्तीमा बसोबास गर्ने बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा २५ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको असल छिमेकी सहयोग सङ्घ (गोनेसा) पोखराले २०८२ भदौ ६ गते तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बाल विकास केन्द्रका शिक्षिका तथा कार्यालयका कर्मचारीबिच शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी तथा संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीले गोनेसाले पोखरा महानगर क्षेत्र र छिमेकी जिल्लाका जेहेन्दार तथा अतिविपन्न बालबालिकालाई विद्यालय भर्ना, शैक्षिक सामग्री तथा पोशाक वितरणमार्फत शैक्षिक विकासमा सहयोग गर्दै आएको जानकारी दिनु भयो ।

उहाँका अनुसार हाल गोनेसाले पोखरा महानगर क्षेत्रका स्थानीय समुदायमा १२ र सामुदायिक विद्यालयमा ५ गरी १७ ओटा बाल विकास केन्द्र सञ्चालन गरिरहेको छ ।

ती केन्द्रमा २४ जना शिक्षिकामार्फत करिब ३ सय ५० जना साढे दुई वर्ष देखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई शिक्षा प्रदान भइरहेको संस्थाले जनाएको छ ।

अध्यक्ष सुवेदीले बालबालिकाले असल संस्कार र नैतिक शिक्षा परिवारबाट सिक्ने भएकाले घरपरिवारमै सुसंस्कृत वातावरण सिर्जना गर्न अभिभावक र शिक्षिकालाई आग्रह गर्नु भयो ।

संस्थाले छात्रछात्रालाई विद्यालय पोशाक, कापी, कलम, झोला, जुत्ता, मोजासहित आवश्यक शैक्षिक सामग्री वितरण गर्दै आएको पनि उहाँले जानकारी दिनु भयो ।

बाल विकास केन्द्रका शिक्षिकाले संस्थाले बालबालिकाको क्षेत्रमा उदाहरणीय भूमिका खेलेको भन्दै गीतमार्फत शुभकामना आदानप्रदान गरेका थिए । प्रस्तुत गीतहरूले स्वास्थ्य, पोषण र शिक्षामा केन्द्रित सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव श्यामनाथ कुँवर, कोषाध्यक्ष निरमाया गुरुङ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य सवनम शर्मा, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेल, कार्यकारी निर्देशक शिवराज शर्मा तथा वडा नं २५ का कार्यवाहक अध्यक्ष कृष्णबहादुर कुँवरले पनि तीजको शुभकामना दिँदै बालबालिकाको हकअधिकार र शैक्षिक क्षेत्रका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।

Author

Share the News

Recent News

Related News