सिन्धुली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि स्वाधीन खबर पत्रिका प्रकाशन समूह, सिन्धुलीले ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
पत्रिकाका प्रकाशक एवम् प्रधान सम्पादक रुद्रबहादुर खड्काका अनुसार संस्थाले आफ्नो आम्दानीबाट उक्त रकम सहयोग गरेको हो ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा प्रभावित नागरिक तथा परिवारलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उद्देश्यले संस्थाले आर्थिक सहयोग गरेको खड्काले बताउनुभयो ।
रकम जम्मा गरेपछि प्राप्त भौचर सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई बुझाइएको पत्रिकाका सम्पादक लोकमणी तिमल्सिनाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद्को समयमा सहयोग गर्नु आमनागरिकको दायित्व भएको बताउनुभयो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्वाधीन खबर पत्रिकाले सहयोग गरेकोमा उहाँले यसबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।