रुद्रबहादुर खड्का, सिन्धुली ।
कमलामाई नगरपालिका–४ धुराफाँटमा २०८२ पुस ६ गते दिउँसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुशीलालाई ५९ वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) ले भान्सा कोठामा आगो लगाएर हत्या गरेका हुन् ।
प्रहरीले पुस ६ गते नै दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको र नन्द मीना लामाले अपराध स्वीकार गरेको जनाएको छ ।
घटनास्थलबाट पेट्रोलका दुई बोतल, लाईटर र बाँसको राँको फेला परेको प्रहरीले जनाएको छ । सुशीलाको मृत्यु घटनास्थलमै भएको थियो ।
मृतकका बुबा प्रेमबहादुर घिसिङले सासू, नन्द र ससुरासहितविरुद्ध किटानी उजुरी दिनुभएको छ ।

सोही आधारमा ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनामा सुशीलाका ६२ वर्षीय ससुरा दुर्गामान बम्जन आगो निभाउने क्रममा घाइते हुनु भएको छ ।
उहाँको उपचार किर्तिपुर वर्न अस्पतालमा भइरहेको छ । सुशीलाको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।
घटनापछि पीडित पक्ष र विभिन्न महिला सङ्गठनहरूले निष्पक्ष छानबिन र न्यायको माग गर्दै ज्ञापनपत्र बुझाउनुका साथै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् । मृतक सुशीलाका पति वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा रहनु भएको छ ।
