रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ धुरा फाँटस्थित एक घरमा सासू र नन्दले पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी सुशीला घिसिङ बम्जनको घटनाले उग्र आन्दोलनको रूप लिएको छ । घटनास्थलमै मृतकका आफन्त र स्थानीयवासीले दिनभर घरमा तोडफोड गरेका छन् ।
सुशीलालाई जलाएर हत्या गरिएको उक्त घरका सबै सिसा तोडफोड गरिएको छ । प्रहरीद्वारा घरमा ताल्चा खोल्न दिइएको, आरापित पक्षले घरभित्रका सामानहरू झिकेर लगेको तथा पुनः सामान ओसारपसार गर्न पीडक पक्ष आएको आरोप लगाउँदै स्थानीय आक्रोशित बनेका हुन् ।
घटनास्थलमा छोडिएका प्रमाणहरू नष्ट गर्न खोजिएको, घरका धनसम्पत्ति लुकाउने प्रयास गरिएको, शव नबुझी सबै फरार हुन खोजिएको तथा यसमा प्रहरीको समेत मिलेमतो रहेको आरोप मृतकका आफन्त र स्थानीयले लगाएका छन् ।
शवको पोस्टमार्टमपछि प्रहरीले घर खोल्न अनुमति दिएको र सामानहरू ओसारपसार गरिएको भन्दै स्थानीयले नाराबाजीसमेत गरेका थिए ।
कोरियामा वैदेशिक रोजगारीमा रहेका मृतकका पतिलाई घर आउन नदिएको, शव नै नबुझी सबैजना भाग्न खोजेको तथा त्यसमा प्रहरीको संलग्नता रहेको आरोप पनि आफन्तले लगाएका छन् ।
सामान लिन आएका देवरसहित पाँच जना आफन्तलाई स्थानीयले दिनभर घरभित्रै घेरेर नाराबाजी गरिरहेका थिए ।
घरभित्र फसेका पाँच जनाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगे पनि उनीहरू घरभित्रै थुनिएका छन् । साँझ परेपछि उक्त क्षेत्र झनै तनावग्रस्त बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले भने सबै आवश्यक प्रमाण सङ्कलन भएपछि मात्रै घरको ताल्चा खोल्न दिइएको बताएका छन् ।