विराटनगर । विराट फुटसल च्याम्पियनसिप-२०८२ को उपाधि सुनसरी जिल्ला टोलीले जितेको छ। आज विराटनगर स्थित जाम्बोरे फुटसल कोर्टमा सम्पन्न फाइनल खेलमा मोरङ जिल्ला टोलीलाई तीनका विरुद्ध चार गोलले हराउँदै सुनसरीले उपाधि जितेको हो ।
सुनसरीको जितमा दिवस खत्रीले दुई, कविन्द्र लिम्बू र विवेक राईले एक-एक गोल गर्नुभएको थियो । मोरङका लागि कैलाश बस्नेतले दुइ गोल र नविन न्यौपानेले एक गोल गर्नुभएको थियो ।
च्याम्पियनसिपको उपाधि जिते सँगै सुनसरी जिल्ला टोलीले ट्रफी, मेडल र नगद ३१ हजार रुपियाँ र उपविजेता मोरङले ट्रफी, मेडलसहित नगद २१ हजार रुपियाँ प्राप्त गरेको आयोजक मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका कैलाश बस्नेत र उत्कृष्ट गोलकिपर सुनसरीका अनुराग श्रेष्ठ हुनुभएको थियो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले विजेता टोलीलाई ट्रफी, मेडल प्रदान गर्नु भएको थियो ।
फाउन्डेसनको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न च्याम्पियनसिपमा सुनसरी, मोरङसँगै झापा, उदयपुर र धनकुटाका जिल्ला टोलीको सहभागिता रहेको थियो ।