मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नेतृत्वको गलत प्रवृत्तिप्रति असहमति जनाउँदै सुमना श्रेष्ठको राजीनामा

ललितपुर । रास्वपाकी नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत पार्टी छाडेको बताउनु भएको छ ।

पार्टी नेतृत्वले गल्ती स्वीकार नगरी आलोचकविरुद्ध मिडिया ट्रायल गर्ने प्रवृत्तिप्रति असहमति जनाउँदै उहाँले राजीनामा दिएको बताउनु भएको हो ।

श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेपछि आफूले निरन्तर आलोचना गर्दै आएको बताउनु भयो ।

यसअघि उहाँले सह-महामन्त्री पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँ हालै विघटित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

उहाँ रास्वपा छाडेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खोल्न लागेको पार्टीमा सक्रिय हुन लाग्नु भएको अड्कलबाजी गरिएको छ ।

अहिलेको मन्त्रीपरिषद्मा समेत उहाँको चर्चा भएपछि उहाँले आफू यो अन्तरिम मन्त्रीपरिषदमा कुनैपनि मन्त्रालय सम्हाल्ने गरी अघि नबढेको बताउँदै प्राप्त हुने पद अस्वीकार गरेको उल्लेख गर्नु भएको छ ।

सुमना श्रेष्ठको फेसबुक पेजमा लेखिएको व्यहोरा यस्तो छः-

कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ । कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Author

Related News