पोखरा । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय पोखराको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर) तथा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने सन्दर्भमा साझेदार निकाय र सरोकारवालाबीच पूर्वतयारी छलफल सम्पन्न भएको छ ।
यो बैठक २०८२ भदौ २० गते स्वास्थ्य मन्त्रालयका नि. सचिव सुरज गुरौको अध्यक्षतामा पोखरामा सम्पन्न भएको हो ।
छलफलमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका नि. महानिर्देशक हेमन्त शर्मा पौडेल, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डा. रमेशकुमार के.सी., स्वास्थ्य मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मी, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, राष्ट्रिय मानव अधिकार आयोग पोखराका कार्यालय प्रमुख नीतु गतौला लगायतले आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रमका लागि आआफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।

नेपालमा आत्महत्या सम्बन्धी तथ्याङ्क
सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा आत्महत्याको अवस्था गम्भीर छ ।
- आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ८ सय ६६ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको ७ हजार २ सय २३ जनाभन्दा केही कम भए पनि दैनिक औसत १८ जना आत्महत्या गर्ने तथ्याङ्क निकै चिन्ताजनक छ ।
- आत्महत्या गर्नेमध्ये पुरुष वयस्क ३ हजार ७ सय ४, महिला वयस्क २ हजार ३ सय ८, बालिका ५ सय ९४ र बालक २ सय ६० जना रहेका छन् ।
- आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी ५ हजार ७ सय ९८ ले घाँटीमा पासो र ९ सय ६१ जनाले कीटनाशक विषादी सेवन गरेका थिए ।
- दशकयता नेपालमा आत्महत्या दर झन् बढ्दो क्रममा रहेको छ। दशकअघि दैनिक औसत ११ जनाले आत्महत्या गर्ने गरेकोमा हाल यो सङ्ख्या १८-२० सम्म पुगेको छ।
- राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार, करिब ६.५ प्रतिशत जनसङ्ख्याले जीवनमा आत्महत्या गर्ने विचार गरेका छन् भने ७.२ प्रतिशतमा आत्महत्या गर्ने प्रवृत्ति पाइएको छ।
यस सन्दर्भमा छलफलकर्ताहरूले आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने, मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने र समुदायस्तरमै सहयोगी संरचना विकास गर्नुपर्नेमा जोड दिएका थिए ।